काठमाडौं। नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपीएल)ले लगानी दायरा विस्तार गर्दै ठूला र रोजगारीमुखी आयोजनामा सार्वजनिक-निजी साझेदारीको माध्यमबाट लगानी गर्ने निर्णय गरेको छ। कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा कम्पनीको काठमाडौंमा भएको पहिलो वार्षिक साधारणसभाले यस्तो निर्णय गरेको हो।
जेनजी विद्रोहपछि आर्थिक वातावरण कसरी माथि उठ्छ भनेर चिन्ता भइरहेका बेला एनडीपीएलको उत्साहजनक निर्णय आएको हो। सभाले सरकारी तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय गैर सरकारी कोषहरूसँग सहकार्य गर्दै लगानी विस्तार गर्ने, सम्भाव्यता देखिएका जलविद्युत्, पर्यटन, सूचना प्रविधि, कृषि, घरेलु, साना तथा मझौला उद्योगमा लगानी गरी ग्रामीण क्षेत्रमा रोजगारी सृजना गर्ने योजना अघि सारेको छ। साथै कम्पनीले एनडीपी भेन्चर र एनडीपी डेभलपर नामक छुट्टै संरचना गठन गरी सहरी पूर्वाधार, आवास तथा पीईभीसी क्षेत्रमा लगानी गर्ने तयारी गरेको छ।
वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ढकालले कम्पनीले लगानी विविधीकरण र जोखिम व्यवस्थापनका लागि विभिन्न प्रणाली विकास गरिरहेको बताए। उनले भने, ‘अहिलेको विशिष्ट आर्थिक परिस्थितिमा व्यवसायीहरूको मनोबल घटेको छ, त्यसैले राज्यले व्यवसाय र लगानीकर्ताको सुरक्षाको प्रत्याभूति गर्न आवश्यक छ।’
उनका अनुसार एनडीपीएलले शिथिल अर्थतन्त्रलाई पुनः लयमा ल्याउन, उत्पादन र रोजगारी बढाउन, र उद्यमी व्यवसायीको मनोबल उकास्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। ढकालले भने, ‘हामीले ठूला र रणनीतिक उद्योगमा लगानी गरेर आर्थिक गतिविधि अघि बढाउन सक्छौं, जसले देशको अर्थतन्त्रलाई चलायमान बनाउनेछ।’
अध्यक्ष ढकालले कम्पनीमा स्वदेश र विदेशमा रहेका नेपाली लगानीकर्ताको उच्च चासो देखिएको पनि बताए। हालै अमेरिकामा अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यक्रममा सहभागी हुँदा त्यहाँका नेपालीहरूले नेपालमा लगानी सम्भावना र एनडीपीएलबारे गहिरो चासो देखाएको उनले बताए। उनका अनुसार विभिन्न देशमा रहेका गैर आवासीय नेपालीहरू पनि कम्पनीमा लगानी गर्न इच्छुक छन्।
उनले कम्पनीमार्फत स्वदेश र विदेशमा रहेका व्यवसायी तथा लगानीकर्तालाई नेपालमा उद्योग–व्यवसाय स्थापना र विस्तारका लागि परामर्श सेवा उपलब्ध गराउने, समस्याग्रस्त उद्योगहरूको पुनरुत्थानमा सहयोग पुर्याउने र प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने परियोजनामा सहकार्य गर्ने जानकारी दिए।
सबै उद्योगी, व्यवसायी र गैर आवासीय नेपालीहरूलाई कम्पनीमा लगानी गरी मुलुकको आर्थिक विकासमा साझेदारी गर्न ढकालले आह्वान गरे।
एक वर्षअघि स्थापना भएको एनडीपीएलको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ। हाल ४६ जिल्लाका २४६ जना सेयरधनी यसमा आबद्ध छन्। बागलुङको ढोरपाटनमा सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी बैठकले देशभरका उद्यमी व्यवसायी र गैर आवासीय नेपालीलाई समेट्दै राष्ट्रियस्तरको लगानी कम्पनी स्थापना गर्ने निर्णय गरेको थियो।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्बर अफ कमर्स र गैर आवासीय नेपाली संघका सदस्यहरू मिलेर स्थापना गरिएको यो कम्पनीले छरिएका पुँजी एकत्रित गर्दै उत्पादन र रोजगारी सृजनालाई मुख्य प्राथमिकतामा राखेको छ।









