काठमाडौँ। प्रहरीले जेनजी आन्दोलनको नाममा वृत महाराजञ्जमा आगजनी गर्ने र प्रहरीलाई कुटपिट गर्ने थप दुई जनालाई पक्राउ गरेको छ।
सुकेधाराबाट सोमबार दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सुकेधारा बस्ने सिन्धुलीको गोलञ्जोर-१ का २२ वर्षीय अलिष श्रेष्ठ र मनमैजु बस्ने रसुवाको उत्तरगया-४ का २७ वर्षीय सौरभ तामाङ छन्।
प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी जवान उत्तम थापामाथि जेन्जी आन्दोलनका बेला निर्घात कुटपिट भएको थियो। सख्त घाइते उनको उपचारका क्रममा मृत्यु भएको थियो। घटनामा संलग्नको पहिचान सीसीटीभी क्यामराका फुटेजबाट भएको हो।
गत भदौ २३ मा जेनजीको प्रदर्शनमाथि प्रहरीले गोली चलाएर दुई दर्जनको मृत्यु भएपछि भोलिपल्ट आन्दोलन ध्वंसात्मक भएको थियो। उक्त दिन आन्दोलनका निहुँमा आपराधिक गतिविधिमा संलग्नलाई प्रहरीले खोजी खोजी पक्राउ गर्दैछ। पहिचानका लागि सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियो र प्रहरीका सीसीटीभी फुटेज सहयोगी बनेको छ।










