एउटै मुद्दामा दोस्रो पटक सीआइबीले किन गर्‍यो पूर्वसभामुख महरालाई पक्राउ?



बिजमाण्डू
२०८२ असोज २६ गते १७:३४ | Oct 12, 2025
एउटै मुद्दामा दोस्रो पटक सीआइबीले किन गर्‍यो पूर्वसभामुख महरालाई पक्राउ?
फाइल तस्बिर।


काठमाडौं। पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा दोस्रो पटक एउटै मुद्दामा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले ललितपुरको खुमलटारस्थित निवासबाट महरालाई पक्राउ गरेको हो।

Tata
GBIME

सीआइबीले उनलाई भेपभित्रको सुन प्रकरणमा नियन्त्रणमा लिएको हो। यसअघि पनि उनी २०८० चैतमा पक्राउ परेका थिए। तर, त्यसको ४ दिनमा चैत ९ गते उनी हाजिरी जमानीमा रिहा भए। ४ दिनसम्म उनको सरकारी वकिल कार्यालय काठमाडौंमा बयान लिइएको थियो।

२०७९ साल पुस १० गते फ्लाइ दुबईबाट चिनियाँ नागरिकले दुईवटा सुटकेसमा ७३ वटा प्याकभित्र ७३० वटा भेप ल्याएका थिए। धेरै संख्यामा भेप ल्याएको देखिएपछि विमानस्थल भन्सार कार्यालयले जफत गरेको थियो।

जफत गरिएको भेपबारे बुझ्न महराका छोरा राहुलले भन्सारका अधिकृतलाई फोन समेत गरेका थिए। अनुसन्धानका क्रममा सुन ल्याउने चिनियाँ नागरिकसँग बाबुछोराको नै सम्पर्क देखिएको थियो।

‘हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने देखिएकाले नियन्त्रणमा लिएका हौं,’ सीआइबीका प्रमुख एआइजी मनोज केसीले भने।

सुन प्रकरणमा उनका छोरा राहुल समातिएर हाल अदालतको आदेशमा थुनामा थिए।

जेनजीको प्रदर्शनपछि भष्ट्रचारीलाई कारबाहीको चर्को माग उठेको छ। यसैबीचमा अनुसन्धान गर्ने निकायलाई चर्को दबाब छ।

पुरानो अनुसन्धान भइसकेको मुद्दामा राजनितिक कारणले मुद्दा लग्न नसकेका घटनामा यस्ता निकायले काम थालेका छन्। गृहमन्त्री ओमप्रकास अर्यालले केही साताअघि सीआइबीमा पुगेर राजनीतिक दबाबका कारण रोकिएका मुद्दामा ब्रेक थ्रु गर्न निर्देशन दिएका थिए।

‘अब मुद्दा पनि लग्ने बेला भएको छ। त्यसैले पनि उहाँलाई नियन्त्रणमा लिएको हो,’ एआइजी केसीले भने।