इभी ब्याट्रीको सुरक्षाका लागि चीनले नयाँ नियम ल्याउँदै, ‘नो फायर, नो एक्सप्लोजन’ मापदण्डको हुनुपर्ने



बिजमाण्डू
२०८२ असोज २५ गते ०६:२७ | Oct 11, 2025
इभी ब्याट्रीको सुरक्षाका लागि चीनले नयाँ नियम ल्याउँदै, ‘नो फायर, नो एक्सप्लोजन’ मापदण्डको हुनुपर्ने

काठमाडौं । चीन सरकारले विद्युतीय सवारीसाधन (इभी)मा प्रयोग हुने ब्याट्रीका लागि नयाँ मापदण्ड ल्याउने भएको छ। इभीमा प्रयोग हुने ब्याट्री अझै सुरक्षित बनाउनका लागि चीनले नयाँ मापदण्ड लागू गर्न लागेको हो।

Tata
GBIME
Nepal Life

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआईआईटी)ले इभीमा प्रयोग हुने ब्याट्रीका लागि नयाँ राष्ट्रिय सुरक्षा मापदण्ड लागू गर्ने तयारी गरेको छ। नयाँ ब्याट्री सुरक्षा मापदण्ड सन् २०२६ को जुलाई १ देखि लागू हुनेछ।

पछिल्लो समय इभीमा प्रयोग हुने ब्याट्रीमा आगो लाग्ने र विस्फोट हुने समस्या धेरै देखिएको भन्दै सुरक्षामा ध्यान दिनुपर्ने आवाज बढेको थियो। अहिले इभीमा प्रयोग हुने ६७ प्रतिशत ब्याट्री चिनीयाँ कम्पनीले बनाउने गरेका छन्। जसका कारण चीनले ब्याट्रीको सुरक्षालाई ध्यान दिइ नयाँ मापदण्ड लागू गर्न लागेको हो।  

बेलायतमा आधारित फाष्टमार्केट रिसर्च कम्पनीको हालैको एउटा रिपोर्ट अनुसार एलफपी ब्याट्री उत्पादनमा विश्वमा नै चीनको दबदबा छ। गत वर्ष लिथियम आइरन फोस्फेट ब्याट्री उत्पादनमा चीनको बजार हिस्सा ९४ प्रतिशत थियो।

साथै ७० प्रतिशत लिथियम उत्पादनका लागि आवश्यक कच्चा पदार्थ चीनले नै सप्लाई गरेको थियो। एलएफपी ब्याट्री उत्पादनमा भने चीनको बजार हिस्सा ४० प्रतिशत मात्रै छ।

चीनका यातायात संचालक र प्रोपर्टी म्यानेजरहरुले ई-बाइकमा भएको आगलागीपछि मिडिया रिपोर्टका आधारमा ब्याट्रीमा प्रतिबन्ध लगाएका थिए। अध्ययनले ई-बाइकमा आगो लाग्नुको कारण आफ्टर मार्केट कन्भर्जन किट भएको देखाएको छ। जुन सुरक्षाको मापदण्ड प्रमाणित नगरी ग्राहकलाई बिक्री गरिएको थियो। साथै ती ई-बाइक कुनै ठूला कम्पनीले बनाएका थिएनन्। नयाँ मापदण्डमा किटको बिक्री र प्रयोगमाथि कडा नियमन गर्ने अपेक्षा गरिएको छ।

नयाँ ब्याट्रीमा ‘नो फायर, नो एक्सप्लोजन’ मापदण्ड लागू गर्न लागिएको छ। यो अपडेटेड नियम ‘जीबी३८०३१-२०२५’ ले आन्तरिक थर्मल रनअवे भए पनि ब्याट्रीमा आगो लाग्नु वा विस्फोट हुनु हुँदैन भन्ने जनाउँछ। उत्पादक कम्पनीले यो मापदण्डमा टेकेर ब्याट्री उत्पादन गर्नुपर्ने हुन्छ।

यसअघि सम्भावित आगलागीको पाँच मिनेटअघि मात्र चेतावनी दिने प्रणालीको विकास गरिएको थियो। सन् २०२२ देखि लागू गरिएको मापदण्ड परिमार्जन गर्दै नयाँ बनाउन लागिएको हो।

नयाँ मापदण्ड अनुसार ब्याट्री निर्माताले जस्तोसुकै परिस्थितिमा पनि ब्याट्री प्याक आगो लाग्ने, विस्फोट हुने वा गाडीको क्याबिनभित्र धुवाँ निकाल्ने खालका छैनन् भन्ने सुनिश्चित गराउनुपर्नेछ। त्यसपछि मात्रै बिक्री वितरण गर्न पाइनेछ।

यो मापदण्डले सोडियम-आयन ब्याट्रीको प्रयोगमा जोड दिने चीनको विश्वास छ। सोडियम-आयन जस्ता ब्याट्री स्वाभाविक रुपमा कम ज्वलनशील र गैर-विषाक्त प्रविधिमा आधारित हुन्छन्। यो प्रविधिले तापीय घटनाहरुको जोखिम कम गर्छ।

नयाँ मापदण्डले यस्ता ब्याट्रीमा अनुसन्धान र लगानीलाई बढावा दिन्छ। यसले एडभान्स्ड थर्मल म्यानेजमेन्ट सिस्टम विकास गर्नुपर्ने बाध्यता हुनेछ। जसले प्रभावकारी रुपमा कन्ट्रोल र अलग गर्न सक्ने परिष्कृत कुलिङ र सेग्रिगेसन सिस्टम विकास र प्रयोग गर्न बाध्य पार्छ।

उपभोक्ताको सुरक्षामा ध्यान बढाउँदै गर्दा अनुसन्धान र विकास लागतले ब्याट्रीका साना निर्मातालाई चुनौती बढ्ने र यसले ब्याट्री उद्योगलाई भने समस्यामा पार्न सक्ने अनुमान गरिए पनि विश्वव्यापीरुपमा इभीमा आकर्षण बढाउने विश्वास गरिएको छ।

नेपालमा पनि कस्तो ब्याट्री भएको इभी आयात गर्न दिने भन्ने विषयमा सरकारले मापदण्ड बनाइरहेको छ। ब्याट्री व्यवस्थापनका लागि पनि कार्यविधि तर्जुमा गर्ने काम अगाडि बढाइएको छ।