जेनजी आन्दोलनमा जल्यो १० लाख लालपूर्जाको ढड्डा, स्रेस्ता कायम गर्न मालपोतले बोलायो घरजग्गाधनी



नेत्र तामाङ
२०८२ असोज २३ गते १८:०३ | Oct 9, 2025
जेनजी आन्दोलनमा जल्यो १० लाख लालपूर्जाको ढड्डा, स्रेस्ता कायम गर्न मालपोतले बोलायो घरजग्गाधनी


काठमाडौं। जेनजी आन्दोलनमा देशका विभिन्न मालपोत कार्यालयमा आगजनी हुँदा करिब १० लाख लालपूर्जाको सरकारी ढड्डा खरानी भएको छ। त्यही कारण घरजग्गाधनीले मालपोत कार्यालय पुगेर फेरि स्रेस्ता कायम गराउनुपर्ने भएको छ।

Tata
GBIME

भूमिसुधार तथा मालपोत कार्यालय नेपालगंज जलेर पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने कलंकी मालपोत, कास्की मालपोत, भूमिसुधार तथा मालपोत कार्यालय घोराही, मालपोत कार्यालय तुलसीपुर र भरतपुर मालपोतका ढड्डा धेरैजसो जलेका छन्। थप १५ वटा मालपोत कार्यालयमा आंशिक क्षति पुगेको छ।

आगलागी भएका सबै मालपोत कार्यालयमा गरी करिब १० लाख लालपूर्जाको ढड्डा जलेको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ।

आगजनीमा परेका मालपोत कार्यालयले घरजग्गाको अभिलेखसहित स्रेस्ता कायम गराउनका लागि सेवाग्राहीलाई आफूकहाँ बोलाएका छन्।

आगजनीपछिको कलंकी मालपोत

कागजात जलेका कार्यालयहरुले स्रेस्ता कायम गर्ने प्रक्रियाका लागि आवश्यक कागजात खुलाएर सूचना जारी गरेका छन्। जग्गाधनी दर्ता श्रेस्ता तयार गर्न जग्गाधनी स्वयम् मालपोत कार्यालयमा उपस्थित हुनुपर्नेछ। भूमि प्रशासन निर्देशिका २०८१ को दफा २१ अनुसार प्रमाण पेस गर्न मालपोत कार्यालयहरुले आग्रह गरेका छन्।

घरजग्गाधनीले के के लानुपर्छ?

घरजग्गाधनीले मालपोत कार्यालयमा आफ्नो स्रेस्ता कायम गराउनका लागि आफूसँग रहेको सक्कल पूर्जाले मात्र पुग्दैन। स्थानीय तहको सिफारिस लगायत धेरै कागजात आवश्यक पर्छ।

मालपोत कार्यालयहरुले नागरिकता प्रमाणपत्रको प्रतिलिपि, जग्गा रहेको स्थानीय तहबाट भएको भोगसम्बन्धी र सम्बन्धित जग्गाधनी यकिन गर्न स्थायी ठेगाना भएको स्थानीय तहको तीन पुस्ते फोटो टाँससहितको सिफारिस, जग्गाधनी सक्कल पूर्जा, जग्गा प्राप्तिको स्रोतमा लिखतबाट प्राप्त भएकोमा सक्कल लिखत चाहिने बताएका छन्।

यस्तै निर्णय मिसिलबाट प्राप्त भएकोमा सोको प्रमाणित प्रति, प्लट रजिष्ट्रर, फिल्डबुक, नक्सा, चालु आर्थिक वर्षको मालपोत बुझाएको रसिद, जग्गा रोक्का रहेकोमा रोक्का राख्ने संस्थाको सहमति, आवश्यकता अनुसार स्थलगत सर्जिमिन, आवश्यकता अनुसार ३५ दिने सार्वजनिक सूचना र गुठी जग्गाको हकमा गुठी संस्थानको सहमति पत्र ल्याउन भनिएको छ।

कहिलेबाट स्रेस्ता कायमको समय खुल्छ?

पूर्णरुपमा ध्वस्त भएका ६ वटा मालपोत कार्यालयले आउँदो आइतबारबाट सेवा सुरु गर्ने तयारी गरेका छन्। कलंकी मालपोतले आइतबारबाट सेवा सुरु गर्ने प्रमुख मालपोत अधिकृत रविन ढकालले बताए। मालपोत कार्यालय चितवनले यो सेवा सुरु गरिसकेको छ।

नेपालगन्ज मालपोत भने कार्यालय पूर्ण क्षति भएकोले भाडाको घर खोजीमा लागेको छ। अन्य १५ मालपोतमा आंशिक क्षति भएकोले ती मालपोतले पनि सूचना निकाल्नेछन्।

कति दिनभित्रमा स्रेस्ता कायम गरिसक्नुपर्छ?

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार स्रेस्ता कायम गर्न समयसीमा तोकिएको छैन। जग्गाधनीले जुनसुकै समयमा उपस्थित भएर आफ्नो स्रेस्ता कायम गराउन सक्छन्। स्रेस्ता कायम गराउन समय अवधि नतोकिने कलंकी मालपोत कार्यालयका प्रमुख ढकालले बताए।

कलंकी मालपोतका प्रमुख मालपोत अधिकृत रविन ढकाल

विदेश भएकाले के गर्ने?

मालपोत अधिकृतहरुका अनुसार विदेश भएका घरजग्गाधनीले आत्तिनुपर्दैन। श्रेस्ता कायम गर्न कुनै निश्चित अवधि नतोकिएकाले उनीहरुले जुनसुकै बेला उपस्थित भएर स्रेस्ता कायम गराउन सक्नेछन्।

तत्कालका लागि सक्कली लालपूर्जा भएमा नागरिकताको प्रतिलिपि र हालसालै मालपोत बुझाएको रसिद भए पुग्छ। यसरी सजिलै स्रेस्ता कायम विसं २०७७ पछि लालपूर्जा लिनेले मात्र पाउनेछन्। कारण २०७७ यता मालपोत कार्यालयहरु डिजिटल प्रविधिमा प्रवेश गरेकोले हो।

२०७७ अघि लालपूर्जा बनाएकाले के गर्ने?

२०७७ अघि लालपूर्जा बनाएकाहरुको हकमा भने सक्कली लालपूर्जासहित, नागरिकता, तीन पुस्ते, भोचलचन सिफारिस थप चाहिने देखिन्छ।

सेवाग्राहीका लागि यो निकै झन्झटिलो हुने गुनासो आएसँगै विभागले नयाँ कार्यविधिको मस्यौदा तयार गरेर मन्त्रालयमा पठाएको छ। यो स्वीकृत भएर आउनासाथ तीन पुस्ते र भोगचलन सिफारिस नचाहिने विभागका सूचना अधिकारी सूर्य कोइरालाले बताए।

आगजनी भएको कलंकीस्थित नापी कार्यालय

लालपूर्जा नभएको खण्डमा के के चाहिन्छ?

आफूसँग लालपूर्जा नहुने घरजग्गाधनीले सुरुमा लालपूर्जा हराएको वा जलेको ३५ दिने सार्वजनिक सूचना जारी गर्नेुपर्छ। त्यसपछि सार्जिमिन गरी जग्गा रहेको स्थानीय तहबाट भोग सम्बन्धी र सम्बन्धित जग्गाधनी यकिन गर्न स्थायी ठेगाना भएको स्थानीय तहको तीन पुस्ते फोटो टाँससहितको सिफारिस लिनुपर्छ। साथै जग्गा प्राप्तिको श्रोतमा लिखतबाट प्राप्त भएकोमा सक्कल लिखत, निर्णय मिसिलबाट प्राप्त भएकोमा सोको प्रमाणित प्रति, प्लट रजिष्ट्रर, फिल्डबुक र नक्सा चाहिने मालपोत अधिकृतहरुले बताए।

के हो प्लट रजिस्ट्रार र फिल्डबुक?

कुनै पनि जग्गाको सुरुमा नाप नक्सा गरिएको हुन्छ। त्यो फिल्ड बुकमा हुन्छ। फिल्ड बुक नापी कार्यालयसँग रहन्छ। त्यही नापीका आधारमा स्रेस्ता बन्छ र स्रेस्ताको आधारमा व्यक्तिलाई पूर्जा दिन्छ। र एउटा नक्सा बन्छ।

नापीले नाप नक्सा गर्दा यी ४ वटा अभिलेख बनाउँछ। यसलाई क्षेत्रीय किताब पनि भनिन्छ। नापीले नक्सा र फिल्ड बुक आफूसँग मात्र राख्छ। माग्न आएमा नक्सा दिन्छ। त्यसका आधारमा स्रेस्ता कायम गरी मालपोतलाई ह्यान्डओभर गर्छ।

पूर्जा व्यक्तिलाई दिएको हुन्छ। कसैको एक विघा जग्गामा पाँच कट्ठा अरुले किनेमा लिखत भिडाइन्छ। त्यसपछि मालपोतले कित्ताकाटका लागि नापीमा आदेश पठाउँछ। १०० नम्बर कित्ताको एक बिघा जग्गामा ५ कठ्ठा किनेपछि १०० नम्बर कित्ता बदर भएर दुईवटा नयाँ कित्ता नम्बर दिन्छ। त्यो दिनको अन्तिम कित्ता कति पुगेको छ – १६०० पुगेको भए १६०१ र १६०२ मा बाँडफाँड हुन्छ।

यसको अभिलेख चाहिं प्लट रजिस्टार हुन्छ। फिल्ड बुक चाहिं पुरानै हुन्छ। २० पल्टै कारोबार भए पनि त्यो साबिक वा स्रोत नै रहन्छ। कित्ताकाट भए पनि प्लट रजिस्ट्रार हुन्छ।

रोक्का राखेको घरजग्गाको स्रेस्ता कसरी कायम गर्ने?

कुनै बैंकिङ संस्थामा रोक्का राखेको घरजग्गा संस्थासँग भएको अभिलेख र निवेदनपछि स्रेस्ता कायम गर्न सकिन्छ।

कति सजिलो, कति सास्ती?

विभागले २०७७ यता जग्गाको डिजिटलीकरण थालेकोले त्यसयताको स्रेस्ता कायम सजिलै हुने बताएको छ। त्यसअघिका अभिलेख भिडाउन भने केही समय लाग्ने मालपोत अधिकृतहरु बताउँछन्।

स्रेस्ता कायमका लागि मालपोत कार्यालयले मागेको आवश्यक कागजपत्र भूमि प्रशासन निर्देशिका २०८१ अनुसार हो। यो निर्देशिकाअनुसार स्रेस्ता कायम गर्न निकै अप्ठेरो हुने जग्गाधनीहरुले गुनासो गरेका छन्। पुरानो निर्देशिकाको कार्यविधि झन्झटिलो हुने काठमाडौं रामकोटका नरेश बराल बताउँछन्।

‘स्रेस्ता कायमका लागि मालपोत कार्यालयले जारी गरेको कार्यविधि निकै झन्झटिलो र खर्चिलो छ,’ २०६५ मा रामकोटमा जग्गा लिएका बरालले भने, ‘तीन पुस्ते कायमदेखि भोगचलन सिफारिस लिन जाँदा अब लाखौंले सास्ती पाउनेछन्।’

भूमि व्यवस्थापन तथा अभिलेख विभागका सूचना अधिकारी सूर्यप्रसाद कोइराला

यद्यपि विभागले पुराना अभिलेखलाई पनि डिजिटलाइज्ड प्रणालीमा लगिसकेको छ। यही गुनासोलाई सम्बोधन गर्न विभागले नयाँ कार्यविधिको मस्यौदा मन्त्रालयमा पठाएको विभागका सूचना अधिकारी कोइराला बताउँछन्।

‘यो आएपछि सहजै स्रेस्ता कायम हुन्छ। पूर्जा हरायो भनेमा अलि अप्ठेरो पर्न सक्छ। मन्त्रालयले चाँडै स्वीकृत गर्ने आशामा छौं,’ कोइरालाले भने।

कहाँ कहाँका मालपोतमा भयो क्षति?

आगलागीबाट पूर्णरुपमा क्षति भएका कार्यालय

१. कलंकी मालपोत

२. मालपोत, कास्की।

३. भूमिसुधार तथा मालपोत कार्यालय, घोराही, दाङ

४. मालपोत कार्यालय, भरतपुर, चितवन

५. भूमिसुधार तथा मालपोत कार्यालय, नेपालगन्ज, बाँके

६. मालपोत कार्यालय तुलसीपुर, दाङ (आधा कागजात बचेको)

आंशिक क्षति तथा तोडफोड

१. भूमिसुधार तथा मालपोत कार्यालय, धनगढी, कैलाली (दुई कोठा जलेका)

२. मालपोत कार्यालय बुटवल, रुपन्देही (दुई/तीन कोठा जलेका)

३. मालपोत कार्यालय, डडेल्धुरा (तोडफोड)

४. मालपोत कार्यालय खैरहनी, चितवन

५. मालपोत कार्यालय लहान, सिरहा (झ्यालढोका फुटाएको)

६. मालपोत कार्यालय रंगेली, मोरङ (फर्निचर र झ्यालढोकामा तोडफोड)

७. मालपोत कार्यालय चनौली, चितवन (फर्निचर र कम्युटर तोडफोड)

८. मालपोत कार्यालय बेलबारी, मोरङ (झ्यालढोका तोडफोड)

९. मालपोत कार्यालय चन्द्रानगिहापुर, रौतहट (झ्यालढोका तोडफोड)

१०. भूमिसुधार तथा मालपोत कार्यालय विराटनगर, मोरङ (२५ प्रतिशत कागजात जलेका)

११. मालपोत कार्यालय, सिन्धुली (झ्यालढोका र कम्प्युटरमा तोडफोड)

१२. मालपोत कार्यालय दमक, झापा (झ्यालढोका तोडफोड)

१३. मालपोत कार्यालय हेटौंडा, मकवानपुर (झ्यालढोका तोडफोड)

१४. मालपोत कार्यालय बर्दिबास, महोत्तरी (झ्यालढोका तोडफोड)