काठमाडौं। जेनजीको प्रदर्शनका क्रममा भदौ २४ गते महत्त्वपूर्ण राजनीतिक संरचनासँगै उच्च राजनीतिज्ञका निजी सम्पत्तिमा पनि आगजनी भयो। घर आगजनी हुँदा बहुमूल्य सामानदेखि नगद समेत लुटिए। केहीका घरमा जलेर नष्ट भए।
सामाजिक सञ्जालमा नेताको घरमा राखिएको पैसा जलेको र उडाइएको भिडिओ भाइरल नै भए। भ्रष्टाचारविरुद्ध जेनजीले थालेको प्रदर्शनमा बाहिर आएका यस्ता भिडिओले केही नेताको घरमा पैसा रहेको सत्यता समेत देखायो। तर त्यसलाई प्रमाणको रूपमा देखाउने सबुत भने धेरै हदसम्म जलेर नष्ट हुने पुगे।

घटनाको केही दिनमा मात्र सरकारी निकायले यस्ता विषयमा चासो देखायो। घटनास्थलमा पुग्यो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोली तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, तत्कालीन ऊर्जामन्त्री दीपक खड्का र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको घरमा पुग्यो। टोलीले घटनास्थल मुचुल्का समेत उठायो। नोट जलेका भनिएका ठाउँको खरानी समेत संकलन गर्यो।
‘पैसाको खरानीसम्म लगेको देखियो। माटो पनि छोडेका छैनन्। अलीअली ल्याएका छौं,’ मुचुल्काको लागि घटनास्थल पुगेका एक कर्मचारीले सुनाए।
सामाजिक सञ्जालमा नेपाली रुपैयाँ मात्र होइन विदेशी डलर पनि भएको भनिएको छ। तर विभागको टोलीले प्रमाणको लागि भन्दै ल्याएको सबुतले खासै निचोडमा पुर्याउँदैन। नोट जलेको खरानी ल्याएको खण्डमा ल्याब परीक्षण गर्दा जलेको नगद वा अरू नै हो भन्ने खुल्न सक्छ। तर कति नगद थियो खुल्दैन। खरानी परीक्षणले मात्र आरोपितलाई कारबाहीको आधार नबन्न सक्छ। अन्य प्रमाणले समर्थन गराउनुपर्ने दायित्व अनुसन्धान गर्ने निकायलाई रहनेछ।
‘दुई ठाउँबाट नमुना संकलन गरेका ल्याएका छौं। अहिले हामीले अनुसन्धान थालेका हौं,’सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कृष्णप्रसाद मैनालीले भने।
विभागले सभापति देउवा र नेता खड्काको घर बाहेक ओली र दाहालको निवासमा खरानीसम्म भेटेको छैन।

सामाजिक सञ्जाल हेर्दै छानबिन समिति
विभागको टोलीले सामाजिक सञ्जालमा राखिएका भिडिओ समेत संकलन गरिरहेको छ। जहाँ रकम रहेको, जलाएको र आधा जलेका नोट पनि देखिएका छन्। त्यसले अनुसन्धानमा थप मद्दत गर्न सक्ने विभागको बुझाई रहेको छ।
आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारले प्रधानमन्त्री मातहतमा रहेको विभागलाई अर्थ मन्त्रालय अन्तर्गत सारेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा नै विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याएका थिए।
आगलागी २४ गते नै भए पनि विभाग सातापछि मात्र प्रमाण संकलनमा पुगेको थियो। टोली ढिला परिचालन भएको प्रमाण समेत समयमा रक्षा नहुने अवस्था बनेको हो।

विभागले घटना अनुसन्धानका लागि निर्देशक निर्मल ढकालको नेतृत्वमा समिति बनाएको छ। त्यही समितिले थप अनुसन्धान गरिरहेको छ।
‘निर्देशकको नेतृत्वमा अनुसन्धान गर्न भनिएको छ। अनुसन्धानले केही देखाउला,’ महानिर्देशक मैनालीले भने।
विभागले केही प्रमाण भेटिएमा सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान पनि गर्न सक्छ। त्यस्तै देश छोडेर भाग्ने देखिएमा विमानस्थलमा कालोसूचीमा राखेर पासपोर्ट समेत रद्द गर्न सक्नेछ।










