काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ६ मा शनिबार राति ५ वटा मोटरसाइकलमा हतियार सहित चोरी तथा लुटपाट गर्ने टोली पुग्यो। एक घरमा चोरी गर्न छिरेको अवस्थामा स्थानीयले थाहा पाएर उनीहरूलाई नियन्त्रणमा लिन सफल भए। धारिलो हतियार सहित आएका टोलीलाई स्थानीयले केही समयपछि सुरक्षा निकायलाई बुझाए।
तर, यसपटक भने प्रहरी स्थानीयले फोन गरे लगत्तै घटनास्थलमा पुगेन। पहिले भने फोन गरेको केही मिनेटमा नै त्यस्तो अवस्थामा प्रहरी पुग्ने गरेको थियो।
जेनजीको प्रदर्शन र त्यसपछिको अवस्थालाई मध्यनजर गर्दै त्यो टोलमा एक दिनअघि मात्र सिसि क्यामरा समेत जडान गरिएको थियो।
त्यसको एक दिनअघि भक्तपुरको थिमिमा पनि चोरी गर्दा गर्दै एक युवक समातिए। उनीहरूलाई सुरक्षाकर्मीले नभएर स्थानीयले नै समातेका गिए। केही घण्टापछि नेपाली सेनाको टोलीलाई ती युवकलाई बुझाएको थियो।
जेनजी प्रदर्शनका क्रममा प्रहरीलाई ‘टार्गेट’ गरेर कार्यालय जलाइँदा अहिले धेरै स्थान प्रहरी बिहीन छन्। जसकारण अहिले काठमाडौं उपत्यकाभित्र टोल टोलमा चोरी तथा लुटपाटको घटना बढेको छ।
असुरक्षित महसुस गरेका स्थानीय अहिले प्रहरीसँग टुटेको सम्बन्ध गाँस्ने प्रयासमा छन्। जलाइएका प्रहरी कार्यालय सफा गर्ने देखि आवश्यक सामानहरु सहयोग पनि गरिँदैछ।

टोलमा पहिलाझैं प्रहरी नहुँदा असुरक्षित महसुस गरेका स्थानीय अहिले आफै परिचालन भएका छन्। प्रहरी नआएसम्मका लागि रातको समयमा नागरिक आफ्नो ठाउँको गस्तीमा आफै खठेका हुन्।
कागेश्वरी मनोहरा नगरपालिका टोलमा अहिले हरेक रात युवाहरुले गस्ती गरिरहेको छ। १५/२० जनाको समुहमा गस्ती गरिरहेको स्थानीय युवक सन्तोष रायमाझीले बताए।
‘फोन गर्दा प्रहरी आउने अवस्था छैन। त्यसैले अहिले हामी आफैँले युवाजम्मा गएर रातभर गस्ती चलाएका छौँ,’ रायमाझी भने।
टोलमा ९ बजेपछि अपरिचित देखिने मानिसलाई सोधपुछ गर्ने र शंका लागेमा नियन्त्रणमा लिएर सुरक्षाकर्मीलाई बुझाउने गरिएको उनले बताए।
प्रहरी हाल कमान्ड सम्हाल्न ड्युटीमा फर्किसकेको छ। तर प्रहरी सबै ठाउँमा पुग्न सक्ने अवस्था छैन। जसकारण जहाँ सहज छ त्यहाँका प्रहरीसँग समन्वयमा छन् युवाहरु।
उदाहरणका लागि काठमाडौंकै सबैभन्दा ठूलो वडामा पर्ने १६ वडाको व्यस्त प्रहरी वृत्त बालाजुको थियो। प्रदर्शनकारीले सो वृत्तलाई पूर्णरुपमा नष्ट गरेका छन्। अहिले सोह्रखुट्टेमा रहेको प्रहरी वृत्तबाट बालाजुलाई पनि हेरिरहेको छ।
प्रदर्शनपछि काठमाडौंको कपन क्षेत्रमा पनि चोरीका घटना बढेका छन्। कपनमा रहेको सरस्वती यूथ क्लबको सक्रियतामा अहिले गस्ती सुरु भएको छ। रातिको ९ बजेदेखि प्रत्येक घरबाट मानिसहरू निस्किएर समूह बनाएर गस्ती गर्न थालेको स्थानीय युवक माधव त्रिपाठीले बताए। गस्तीमा पुरुषसँगै महिला पनि छन्। सरस्वती नगर आसपासमा समस्या परेमा सम्झन पनि अपिल गरेका छन्।
‘यस्तो बेला अरूको मुख ताकेर मात्र हुँदैन। आफ्नो टोलको सुरक्षा आफैँले गर्नु पर्छ भन्ने हो। सुरक्षाकर्मी सामान्य अवस्थामा नफर्किएसम्म हामी नै गस्ती गर्छौँ,’ त्रिपाठीले भने।

जेनजी प्रदर्शन पछि भएको विध्वंसले प्रहरी र नागरिकलाई फेरि एउटै कित्तामा उभ्याएको छ। नागरिकहरु कानुनी राज्य र सुरक्षाका लागि प्रहरीको आवश्यकता रहेको बुझिरहेका छन्। त्यसैले त प्रहरीलाई मनोबल बढाउन लागेका छन्। स्थानीयहरु। यो क्रम काठमाडौंमा मात्रै सीमित छैन।
झापा पनि नागरिकहरुले टोल टोलमा सुरक्षा गस्ती बनाएर खटिरहेका छन्। त्यस्तै आफ्नो टोल नजिकै रहेको भत्किएका प्रहरीका संरचना समेत स्थानीयको पहलमा बनाउन सुरु भएको छ। नेपाल प्रहरीले पनि चोरीका घटना वा शंकास्पद मानिस देखिएमा नियन्त्रणमा लिएर वा प्रहरीलाई खबर गर्न अनुरोध गरेको छ।
‘कुनै त्यस्तो घटना भयो भने प्रहरीलाई सम्पर्क गर्नुहोला। हामी विस्तारै सामान्यतर्फ फर्किँदै छौँ,’ नेपाल प्रहरीका प्रवक्ता डिआइजी विनोद घिमिरेले भने।
नागरिकले फिर्ता बोलाउँदै सहयोग गरिरहेकोमा प्रहरीले धन्यवाद पनि व्यक्त गरेको छ।

प्रहरीले टोल टोलमा सिसिक्यामरा, साइरन राख्न र अपरिचित मानिसको निगरानी समेत गर्न अनुरोध गरेको छ। नागरिक र प्रहरी मिलेरै धेरै ठाउँमा अहिले सुरक्षा गस्तीसमेत भइरहेको छ।
मंगलबार भएको प्रर्दशनमा देशका विभिन्न कारागारबाट १३ हजार भन्दा बढी विभिन्न अपराधमा पूर्पक्ष र सजाय भुक्तानका लागि रहेका कैदीहरु फरार भएका छन्। केही कैदी फर्किएका छन्, धेरै बाहिर नै छ। बाहिर फर्किएकाहरु फेरि अपराधमा संलग्न भएको सार्वजनिक भइरहेको छ। अझ प्रहरीको हतियार नै लुटिएको हुँदा असुरक्षा बढेको छ।
यसरी भागेकाहरुबाट अपराधिक घटना हुनसक्ने सम्भावना बढ्दा अहिले नागरिक आफैले प्रहरीको मनोबल बढाउने काम गरिरहेका छन्। नागरिकस्तरबाट मात्र नभइ निजी क्षेत्रबाट पनि प्रहरी वृत्त स्थापनाका लागि सहयोग भइरहेको छ। स्थानीयस्तरमै प्रहरी कार्यालय ब्युताउँन सहयोग उठाइँदैछ।
ललितपुरको टिका भैरवमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरू असुरक्षाको कारण उक्त प्रहरी चौकी छोड्न बाध्य भएका थिए। उनीहरू प्रहरी वृत्त चापागाईँमा बस्न पुगे। अहिले टिका भैरवमा प्रहरी फर्किएको छ। नागरिकले असुरक्षित महसुस गरेपछि आफै प्रहरीलाई बोलाएर फिर्ता ल्याएका हुन्। प्रहरी कार्यालय स्थापनामा नागरिकले सहयोग गरिरहेका छन्।

प्रहरीसँगै अहिले सडकमा सवारी व्यवस्थापन गर्न ट्राफिक प्रहरीको संख्या पनि न्यून छ। अहिले बाटो बाटोमा ट्राफिक प्रहरीसँगै स्वयमसेवकहरुले ट्राफिक व्यवस्थापनमा सहयोग गरिरहेका छन्।
काभ्रेमा रात्रिकालिन समयमा युवाहरु स्वस्फूत रुपमा नै सडकमा आएका छन्।
प्रहरी कार्यालय जलाउने र प्रहरीमाथि हातपात गर्नेहरुले गर्वका लागि सामाजिक संजालमा भिडियो राखेका थिए। अहिले तिनै भिडियोलाई आधार बनाएर नागरिकहरुले प्रदर्शनकारीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरिरहेका छन्।
देशभर यस्तो थियो प्रहरीको अवस्था
नेपाल प्रहरीले सामान्य अवस्था बाहेक विपदमा पनि खटिने गरेको थियो। प्रहरी प्रधान कार्यालयका अनुसार एक दिनमा २७ वटा विपदका घटना भएका हुन्छन्। अहिले ठुला विपद्का घटना भए भने प्रहरी खटिन समेत नसक्ने अवस्था छ।
एकदिनमा कम्तीमा ७९ वटा सवारी दुर्घटना हुने गरेको तथ्यांक छ। अहिले सवारी दुर्घटना हुँदासम्म प्रहरी पुग्ने अवस्था सिर्जना भएको छ।
स्थानीयस्तरमा पछिल्लो समय प्रहरी कार्यालयको माग बढेको थियो। ठाउँ ठाउँमा ९२१ युनिट प्रहरीको माग थियो। त्यसको लागि प्रहरीलाई थप २७ हजार जनशक्ति आवश्यक पर्थ्यो। केही स्थानीयतहमा प्रहरीका इकाइ समेत स्थापना हुन थालेका थिए। तर अब प्रहरीले त्यही जनशक्ति र साधनका साथ अगाडी बढ्न केही वर्ष लाग्ने देखिएको छ।
अहिले एक जना प्रहरीले ३८५ जना मानिसलाई सुरक्षा दिनुपरेको छ। यो संख्या अब बढ्ने देखिन्छ। पहिला २ हजार ६६० स्वीकृत प्रहरीको इकाइ थिए। १ हजार ८६९ इकाइको आफ्नो भवन नै थिए। आगजनी र तोडफोडले अहिले प्रहरीमा थप समस्या ल्याएको छ।
मंगलबारका घटनाले प्रहरीको मनोबल घटेको अनुभव नागरिकस्तरमा पुगेको छ। जसकारण उनीहरु अब प्रहरीको मनोबल बढाउन आफै प्रहरीसँगै फिल्डमा उत्रिएका छन्।










