देशलाई शून्यताबाट उठाउने हो भने महेश वा रामेश्वरमध्येबाट बनाऔं अर्थमन्त्री



सुदर्शन सापकोटा
२०८२ भदौ २७ गते २१:२५ | Sep 12, 2025
देशलाई शून्यताबाट उठाउने हो भने महेश वा रामेश्वरमध्येबाट बनाऔं अर्थमन्त्री

काठमाडौं। हिंसाको लहरले सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत मात्र जलाएको छैन, कोशीदेखि सुदूरपश्चिमसम्म फैलिएका सरकारी संरचनाहरूको व्यापक विनाशले राज्यको ‘प्रशासनिक क्षमता’लाई शून्यमा पुर्‍याएको छ।

Tata
GBIME
Nepal Life

ठूला व्यावसायिक प्रतिष्ठानदेखि साना पसलहरुसम्म भएको क्षतिले निजी क्षेत्रको मनोबल कमजोर बनाएको छ। देश नै ‘प्यारलाइज्ड’ भएको छ।

राजनीतिक संक्रमणका बीचमा निर्वाचन गराउने अभिभारासहित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएकी छन्।

कार्कीको नियुक्तिले तत्कालका लागि राजनीतिक शून्यता टरेको छ। तर, गत मंगलबार देशव्यापी रुपमा भएको आगजनी र तोडफोडले अर्थतन्त्रसँगै मनोबल पनि कमजोर भएको छ।

अर्थतन्त्र उकास्ने र मनोबल बढाउने भनेको एकदमै प्राविधिक विषय हो, यसमा भागबण्डा गरेर अर्थमन्त्री ल्याइयो भने उसले काम गर्न सक्दैनन्।

अर्थ प्रशासन बुझेको, धेरै वटा योजना र बजेटमा काम गरेको, राजस्व प्रशासन र निजी क्षेत्रलाई पनि कन्फिडेन्समा ल्याउन सक्ने र स्रोतका लागि विदेशी दाताहरुले पत्याउन सक्ने मान्छे अर्थमन्त्री चाहिन्छ। अर्थात् समन्वय गर्ने क्षमता र अनुभवसहितको व्यक्ति अर्थ मन्त्रालयको नेतृत्वमा चाहिएको छ।

२०४६ सालको परिवर्तनपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अर्थतन्त्रलाई नयाँ आयाम दिन दुई जना प्राविधिक युवाहरुलाई आफ्नो टिममा ल्याएका थिए। उनीहरुले पद पाउनु अघिबाटै अर्थतन्त्रको खेस्रा कोर्न थालिसकेका थिए।

अमेरिका पढेर फर्किएका महेश आचार्यलाई कोइरालाले दायाँबायाँ नसोची अर्थ राज्यमन्त्री बनाए। डा. रामशरण महतलाई योजना आयोगको उपाध्यक्ष। कांग्रेसका तत्कालीन नेता गणेशमान सिंहले दुधे बालकलाई अर्थमन्त्री बनाएको भनेर आलोचनासमेत गरेका थिए। तर, आचार्य र महतले कोरेको रुपरेखाकै आधारमा आजको अर्थतन्त्रको आधार तयार भएको हो।

आज हामी पुन: शून्यमा पुगेका छौं। महत्वपूर्ण सरकारी कार्यालयदेखि निजी सम्पतिसम्म जलाइएका छन्। ठूल्ठूला व्यावसायिक प्रतिष्ठान बालिएका छन्। आगोले निजी क्षेत्रमा भएको क्षतिको हिसाब भनिसाध्य छैन।

भाटभटेनी सुपरमार्केटले मात्र देशका विभिन्न स्थानमा १२ वटा स्टोर गुमाएको छ, उसका थप ९ वटा स्टोर तोडफोड र लुटपाटमा परेका छन्। गाडीका शोरुमदेखि होटलसम्म खरानी बनाइएको छ।

यस्तोमा चुनाव गराउँदै अर्थतन्त्रलाई थप भासिन नदिने र मनोबल बढाउन सक्ने अर्थमन्त्री आवश्यक छ। समाजमा क्षमतावान एकसे एक व्यक्ति छन्, जो अर्थमन्त्री बन्न लायक छन्। तर, अहिलेको विशेष परिस्थितिमा बजार र प्रशासन, विदेशी दाता र आन्तरिक करदातासम्म उत्तिकै पहुँच र विश्वास भएको व्यक्तिको खाँचो छ। र, समाजले पत्याएको पनि हुन आवश्यक छ।

नागरिक सरकार बन्ने भएकाले अर्थमन्त्रीमा सुझबुझपूर्ण हिसाबले निर्णय गरेर पूर्वअर्थमन्त्री महेश आचार्य वा पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी सुम्पिन उपयुक्त देखिन्छ। महेश ‘प्रुभन पर्फर्मर’ हुन् भने रामेश्वर ‘प्रिन्सिपल टेक्नोक्र्याट’ हुन्।

महेशलाई कहिले पनि कलङ्कको टिका लागेन। उनले लाइसेन्स राज अन्त्य गरेर बजार अर्थतन्त्रलाई प्रवर्धन गरे। शिक्षा, स्वास्थ्य र खानेपानीमा नागरिक पहुँच स्थापित गरे। राजस्व प्रशासनलाई सुदृढ मात्र बनाएनन्, कर्मचारीहरुलाई जवाफदेही पनि बनाउने काम नीतिगतरुपमै गरे। संविधान लेखनका बेला साझा दृष्टिकोण बनाउन समन्वयकारी भूमिका निर्वाह गरे।

महेशको विकल्पमा रामेश्वर नै हुन्। रामेश्वर तीनै हुन्, जसले २०६७ चैतमा तत्कालीन सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले व्यापारीको घरमा बसेर बजेट थालेको सहन नसकेर अर्थसचिवबाट राजीनामा दिएका थिए। त्यो पचाएको भए त्यतिखेर अर्को महिना उनी मुख्यसचिव हुन्थे।

चर्चित मूल्य अभिवृद्धि कर (भ्याट) काण्ड खनाल अर्थसचिव नभएको भए बाहिर आउँदैन थियो। व्यापारीहरुले नक्कली भ्याट बिलबाट ठूलो मात्रामा राजस्व छली गरेका थिए। उनीहरुमाथि निर्मम भएर कारबाही अगाडि बढाउनेमा खनाल नेतृत्वले काम गरेको थियो।

खनाल नागरिक समाजमै रहेर पनि सबै दलहरुलाई उनीहरुले चाहँदा सघाउँदै आएका व्यक्ति हुन्। कांग्रेस, माओवादी कसको घोषणापत्रमा उनको योगदान नहोला? यसबाहेक कुन अर्थमन्त्रीको बजेटमा उनले सुधारका लागि योजना नदिएका होलान् र? 

इमान्दार र वेदाग त हुन् नै, जेनजीले चाहेजस्तै उनी भ्रष्टाचारको खरो विरोधी हुन्। खनालको अर्को पक्ष के भने- उनी जतिबेला पनि र जतिसुकै पनि काम गर्न सक्छन्। खनालले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका रुपमा सरकारलाई गत चैतमा प्रतिवेदन बुझाएका थिए। आयोगका सुझाव कार्यान्वयन हुँदै जाँदा ३ वर्षदेखि मन्दीमा रहेको अर्थतन्त्रमा सुधार देखिन थालेको थियो।

खनालसँग विद्रोहीका रुपमा आएको तत्कालीन माओवादीसँग मिलेर काम गरेको अनुभव पनि छ। सँगै माओवादी द्वन्द्वका बेला अप्ठेरो परिस्थितिम नेपाली सेनालाई विश्वासमा लिएर काम गरेको पनि अनुभव छ।

खनालबाहेक अरु पनि योग्य पात्र पनि छन्। तर, ती अहिले कुनै न कुनै दलमा आबद्ध छन्। त्यसो हुँदा नागरिक तहबाट खोज्दा उनी उपयुक्त पात्र हुन्। जेनजी पुस्ताका साथै हुनेवाला प्रधानमन्त्री र राष्ट्रपतिसम्मले खनालका बारमा एक पटक विचार गर्न उपयुक्त हुने देखिन्छ।