
काठमाडौं। संघीय निजामती विधेयकबाट ‘कुलिङ पिरियड’ गायब पारिएको प्रकरणमा विशेष समितिले छानबिन नसकेसम्म प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक नबस्ने देखिएको छ।
समितिका सभापति रामहरि खतिवडाले विशेष समितिले छानबिन नसकेसम्म आफू बैठकमा सहभागी नहुने बताएका छन्। सभापतिको उपस्थितिविना समितिको बैठक बस्दैन। जसका कारण कांग्रेस सांसद जीवन परियार नेतृत्वको विशेष समितिले काम नसकेसम्म राज्य व्यवस्था समितिमा विचाराधीन विधेयक अगाडि नबढ्ने भएका छन्।
समितिले पछिल्लो पटक नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल अगाडि बढाएको थियो। यो विधेयकमाथि समितिले पछिल्लोपटक असार १५ गते छलफल गरेको थियो।
त्यसैदिन प्रतिनिधि सभाले पारित गरेको संघीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’ गायब भएको खुलेपछि राज्य व्यवस्था समितिका सभापति खतिवडा र यसका सचिव सुरजकुमार दूरामाथि उठेको छ।
समितिले निजामती कर्मचारीहरुलाई अवकाशपछि राजनीतिक नियुक्ति लिन ‘कुलिङ पिरियड’ दुई वर्ष राख्ने निर्णय गरेकामा प्रतिनिधि सभाबाट पारित भएको विधेयकमा यो व्यवस्था नै नरहेको पाइएपछि १८ गतेको बैठकमा सत्तारुढ नेकपा एमालेका सांसदले खतिवडाको राजीनामा मागेका थिए। कांग्रेसका केही सांसदले पनि खतिवडाले सभापतिको पदमा बस्ने अधिकार गुमाएको बताएका थिए।
विधेयकमा कसले गडबडी गर्यो भन्ने विषयमा छानबिनका लागि गठित सात सदस्यीय समितिले बुधबारबाट काम थालेको छ। राज्य व्यवस्था समितिका सभापति खतिवडाले विशेष समितिले छानबिन नसकेसम्मका लागि भन्दै गाडी सुविधा फिर्ता गरेका छन्।
‘छानबिन नसकिएसम्मका लागि भनेर मैले गाडी फिर्ता गरिसकेको छु। त्यति बेलासम्म बैठकमा पनि जान्न। समितिमा रहेका कागजपत्र लगायत कुलिङ पिरियडसँग जोडिएका विषयमा विशेष समितिले कुरा गरेपछि सभामुखसँग छलफल गर्छु,’ खतिवडाले भने।
समितिको १८ गतेको बैठकमा एमाले सांसद पदम गिरी र राजेन्द्र राई तथा कांग्रेस सांसद हृदयराम थानीले खतिवडालाई सभापतिका रुपमा अस्वीकार गर्ने बताएका थिए।
उनीहरुले विधेयकबाट ‘कुलिङ पिरियड’ गायब भएको प्रकरणमा सभापति खतिवडा र सचिव दूराले जिम्मा लिनुपर्ने भन्दै दुवैलाई समितिबाट अलग हुन भनेका थिए। दूराले समितिको सचिवका रुपमा काम गर्न छोडिसकेका छन्।
समितिको बैठक चलिरहेकै बेला कांग्रेस केन्द्रीय समितिको बैठकस्थलबाट उपसभापति पूर्णबहादुर खड्काले एमाले सांसद गिरीलाई फोन गरेर खतिवडाको राजीनामा मागेको विषयमा चासो राखेका थिए। ‘खतिवडाजीको राजीनामा माग्ने कुरा तपाइँको निजी धारणा हो कि एमालेको लाइन हो भनेर सोध्नुभयो,’ खड्कासँगको कुराकानी उल्लेख गर्दै गिरीले भने।
खतिवडा राजीनामा दिने पक्षमा भने छैनन्। उनले आफूलाई पार्टीले राजीनामा गर्न नभनेको बताएका छन्। ‘पत्रकार सम्मेलन गरेर राजीनामा गरौं भन्ने पनि लागेको थियो। मैले सभापतिलाई एमालेले पनि राजीनामा मागेको छ, के गरौं भनेर सोधेको थिएँ। त्यति नै बेला सभापतिको फोन आयो राजीनामा नगर्नु भनेर,’ खतिवडाले भने।
खतिवडाको राजीनामाको मागबारे एमाले-कांग्रेस गठबन्धनको शीर्ष तहमै छलफल भएको थियो। एमाले सांसदले राजीनामा मागेकामा कांग्रेसले असन्तुष्टि जनाएपछि खतिवडाको खड्को तत्कालका लागि टरेको छ।