
काठमाडौं। नेपाली राष्ट्रिय महिला टोलीका प्रशिक्षक प्याट्रिक डी वाइल्ड र एन्फा अफिसियलबीचको आरोपप्रत्यारोप अझै सेलाएको छैन।
एएफसी एसियन कप छनोट खेल्न उज्बेकिस्तान गएको महिला टोली अन्तिम खेलमा पेनाल्टी सुटआउटमा पराजित भएपछि प्रशिक्षकले कप्तान छनोट र प्राविधिक विषयमा प्रश्न उठाए। उनले प्रधानमन्त्रीले खेलाडीसँग गरेको भिडियो कन्फ्रेन्सले खेलाडीमा दबाब बढाएको भन्दै एन्फा अफिसियलको कार्यशैलीमा प्रश्न गरे।
विवादको सुरुवात भएको थियो, कप्तानको छनोटबाट। पछिल्लो समय कप्तानी सम्हाल्दै आएकी एन्जिला तोम्बाफो सुब्बा पहिलो खेलको प्लेइङ ११ मा नपरेपछि एन्फाले रेनुका नगरकोटेलाई कप्तान बनाउँदै प्लेइङ ११ सार्वजनिक गर्यो।
तर, त्यही खेलमा कप्तानी आर्मब्याण्ड सावित्रा भण्डारी साम्बाले लगाइन्। त्यसअघि नेपालको कप्तानी कसले सम्हाल्ने भन्ने टुंगो प्रशिक्षकले दिएका थिएनन्।
प्रशिक्षकले दिएनन् कप्तानको नाम
एन्फाको हेड अफ डेलिगेट्स बनेर उज्बेकिस्तान गएकी सरिला श्रेष्ठ प्रशिक्षकमाथि प्रश्न उठाइन्। आफूहरुले खेलाडीको बिदाइका क्रममै कप्तानको नाम घोषणा गर्न आग्रह गरे पनि खेल अघिसम्म प्रशिक्षकले नाम नदिएको उनको दाबी छ।
‘एएफसीको अफिसियलले नाम चाहियो भनेर टाइम नै तोकेर मागेको माग्यै गरे। प्रशिक्षकले ९० मिनेट मिनेटअघि प्लेइङ ११ दिनुभयो। तर, त्यसमा कप्तानको नाम थिएन,’ श्रेष्ठले भनिन्, ‘कप्तानको नामविना एएफसीले प्लेइङ ११ स्वीकृत गर्दैन। फेरि सोध्यौँ, दिनुभएन। म्याच कमिस्नरले फेरि सोध्नु भयो, त्यसपछि सूचीको सबैभन्दा सिनियर रेनुका नगरकोटेको नाम दियौं, पास भयो।’
त्यसपछि आर्म ब्याण्ड लगाउने बेला प्रशिक्षकले साम्बालाई कप्तान बनाएको श्रेष्ठले बताइन्। ‘साम्बा कप्तान हुँदा कुनै समस्या थिएन। नेपालमै भनेको भए पनि समस्या थिएन,’ श्रेष्ठ भन्छिन्, ‘हामीलाई फाइन पर्न सक्छ कि? भन्दा उहाँ रिसाउनु भयो, हामी ब्याक भयौं।’
म्याच कमिस्नरले पनि आर्म ब्याण्ड फरक भयो भन्दासमेत प्रशिक्षकले वास्ता नगरेको उनको दाबी छ।
‘प्रशिक्षकले सबैमाथि शंका गरे‘
टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका राजेन्द्र तामाङ प्रो लाइसेन्स प्राप्त प्रशिक्षकसँग नयाँ कुरा सिक्न आफूले सहायक प्रशिक्षकको भूमिका निर्वाह गरेको बताए। प्रशिक्षकले सबैमाथि शंका गरेको तर आफूले निर्देशन बमोजिम नै काम गरेको उनको भनाइ छ।
‘काम गर्ने शैलीमा उहाँ एकदमै राम्रो हुनुहुन्थ्यो। युरोपको मान्छे अलि र्युड त भइहाल्छ,’ उनले भने।
उनले प्रशिक्षकले भनेजस्तो आफू ल्याप्टप नै चलाउन नजान्ने खालको नभएको बताए। ‘हामी भिडियोहरु काटेर चाहिँ देखाउँछौं। तर, उहाँले जस्तो हामीले एनिमेसन गरेर देखाउने गरेको थिएन। त्यो समस्या हो। मैले त्यो गाह्रो छ भनेको थिएँ,’ उनले भने।
टेक्निकल डाइरेक्टरलाई प्रशिक्षकको पत्र
लाओससँगको खेलको रातिको घटनाबारे प्रशिक्षकले टोलीका टेक्निकल डाइरेक्टर हरि खड्कालाई पत्र पठाए।
‘यो घटना भएको राति मलाई इमेल लेख्नु भएको रहेछ। दिउँसो दुईवटा पत्र पठाउनु भएको रहेछ। मैले हेडअफ डेलिगेट र कप्तानसँग पनि बुझेँ,’ खड्काले भने, ‘मैले त्यो घटनामा केन्द्रित नहुन र दुईवटा खेल बाँकी हुँदा लक्ष्यमा केन्द्रित हुन भनें।’
खड्काले नेपाल फर्किएपछि विवाद मिलाउने वचन दिएका थिए।
प्रशिक्षकलाई मासिक १ हजार डलर दिने गरी एक वर्षको करार छ। करार अब के हुन्छ? भन्ने प्रश्नमा खड्काले प्रशिक्षकले आफ्नो पक्षबाट भएको कमजोरी सुधार्न तयार रहेको बताएको जानकारी दिए।
कप्तान कसलाईबनाउने भन्ने विषयमा प्रशिक्षकले निर्णय गर्ने खड्काले बताए।