
काठमाडौं। ४७.७ मेगावाट क्षमताको कालिका कालीगण्डकी जलविद्युत आयोजनामा लगानी जुटेको छ। आयोजनामा कृषि विकास बैंकको नेतृत्वमा ६ बैंकले ६ अर्ब ४० करोड रुपैयाँ लगानी गर्ने भएका छन्।
कृषि विकास बैंकका अलावा सिटिजन्स बैंक इन्टरनेसनल, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, प्रभु बैंक, लक्ष्मी सनराइज बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले लगानी गर्ने भएका हुन्।
कृषि विकास बैंकले १५० करोड, सिटिजन्स बैंकले १४० करोड, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र प्रभु बैंकले १००/१०० करोड तथा लक्ष्मी सनराइजले र सांग्रिला डेभलपमेन्ट बैंकले ७५/७५ करोड रुपैयाँ लगानी गर्ने भएका छन्।
आयोजना बनाउन १० अर्ब १५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएकामा २५ प्रतिशत कम्पनीले स्वपुँजी लगानी गर्ने छ। आयोजनाको प्रवर्धक मौलाकालिका हाइड्रोपावर कम्पनी हो।
आयोजनामा वित्तीय व्यवस्थापनका लागि बुधबार सम्झौता भएको छ। सम्झौतापत्रमा प्रवर्धक कम्पनीका तर्फबाट अध्यक्ष कृष्णप्रसाद सुवेदी र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले हस्ताक्षर गरे।
आयोजना २०८४ भित्र सम्पन्न हुनेगरी निर्माण कार्यको सम्पूर्ण तयारी गरिसकेको कम्पनीका अध्यक्ष सुवेदीले बताए।
आयोजनाबाट वार्षिक २७९.९५७ गिगावाट विद्युत उत्पादन हुनेछ। उत्पादित बिजुली ८ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन निर्माण गरी भरतपुरको आँपटारीस्थित नेपाल विद्युत प्राधिकरणको २२०/१३२ केभी न्यू भरतपुर सबस्टेसनमा जोडिने छ।
आयोजनाले ३८.१६ मेगावाटको पीपीए २०७९ मा गरेकामा बढाइएको क्षमताका लागि पीपीए गर्न बाँकी छ।
आयोजनालाई ड्याम टु वे मोडलमा निर्माण गरिने छ। यसमा लामो सुरुङमार्ग आवश्यक पर्दैन। आयोजना धार्मिकस्थल देवघाटबाट ४ किलोमिटरमाथि देवघाट गाउँपालिका र गैंडाकोट नगरपालिका भएर बग्ने कालिगण्डकी नदीमा निर्माण गरिने छ।