
काठमाडौं। ब्याजदर न्यून विन्दुमा आउनु, दुई ठूला दल मिलेर सरकार बनाउनु र राष्ट्र बैंकको एकपछि अर्को नीतिगत लचकताले मार्जिक प्रकृतिको सेयर धितो कर्जा बढ्दै गएको छ।
चालु आर्थिक वर्ष ११ महिनामा यस क्षेत्रमा जाने कर्जा ४२.८ प्रतिशतले बढेर १ खर्ब २८ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। ११ महिनामा सेयर धितो कर्जा ३८ अर्ब ५७ करोडले बढेको छ।
यसअघि आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा बैंक तथा वित्तीय संस्थाहले ४४ अर्ब १६ करोड रुपैयाँ सेयर धितो कर्जा दिएका थिए। त्यसपछि दुई वर्ष खुम्चिएको कर्जा पुन: पुरानै गतिमा बढेको हो।
१५० प्रतिशतसम्म पुर्याइएको जोखिम भार क्रमिक रुपमा घटाउँदै राष्ट्र बैंकले अहिले १०० प्रतिशतमा झारेको छ। व्यक्तिगत सेयर कर्जाको सीमा १५ करोड र संस्थागत लगानीकर्ताको सीमा राष्ट्र बैंकले हटाइसकेको छ।
सेयर धितो कर्जा बढ्नु बजारका लागि सकारात्मक भएको जानकारहरु बताउँछन्। नीतिगत व्यवस्था क्रमश: खुकुलो बनाइएकाले सेयर कर्जा बढ्न थालेको विश्लेषक अनलराज भट्टराईले बताए।
‘२०७७/७८ मा सेयर कर्जामा क्याप लगाइएको थिएन। जोखिख भार १०० प्रतिशत नै थियो त्यसैले त्यतिखेर कर्जाको माग धेरै थियो,’ भट्टराईले भने, ‘पछि सेयर कर्जामा क्याप लगाइयो। जोखिम भार १५० प्रतिशत पुर्याइयो। जसले गर्दा सेयर कर्जा निरन्तर २ वर्ष खुम्चियो। राष्ट्र बैंकले फेरि नीतिगत लचकता अपनाउन थालेपछि कर्जा बढ्न थालेको हो।’
आर्थिक वर्ष २०७७/७८ सम्म कूल कर्जा प्रवाह ३५ खर्ब ४१ खर्ब रहेकामा अहिले ५५ खर्ब ६४ अर्ब पुगेको छ। २०७७/७८ सम्म ९४ अर्ब रहेको सेयर कर्जा अहिले १ खर्ब २८ अर्ब पुगेको छ।
‘ब्याजदर निरन्तर घटेर अहिले तल्लो विन्दुमा छ। कर्जाको औसत ब्याजदर ८ प्रतिशतमा आइसकेको छ,’ भट्टराईले भने, ‘बैंक तथा वित्तीय संस्थाहरुमा तरलता थुप्रिएको छ। रेमिटेन्सको वृद्धिदरलाई हेर्दा तरलता अझै थपिने देखिन्छ। यसले गर्दा पनि सेयर बजारमा अझै लगानी बढ्ने देखिन्छ।’
जेठ मसान्तमा आइपुग्दा कर्जाको औसत ब्याजदर ७.९९ प्रतिशतमा झरेको छ। बैंक तथा वित्तीय संस्थाहरुले कोर क्यापिटलको ४० प्रतिशतसम्म सेयर कर्जा दिन पाउँछन्। चैत मसान्तसम्म वाणिज्य बैंकहरुको कोर क्यापिटल ५ खर्ब ६७ करोड रुपैयाँ छ।
कोर क्यापिटल हेर्दा वाणिज्य बैंकहरुले २ खर्ब २७ अर्ब रुपैयाँसम्म सेयरमा लगानी गर्न पाउँछन्। अहिलेसम्म बैंकहरुले १ खर्ब १५ अर्ब रुपैयाँ लगानी गरेकाले अझै १ खर्ब १२ अर्ब रुपैयाँ लगानी गर्ने स्पेस छ।
अर्का विश्लेषक मुक्ति अर्याल बढ्दो सेयर कर्जाले बजार बढ्ने संकेत गर्ने बताउँछन्। ‘बजार बढे कर्जा बढ्दै जान्छ। आगामी वर्षको मौद्रिक नीति लचिलो आउने संकेतले गर्दा पनि अहिले बजार र कर्जा दुवे बढिरहेको हो,’ उनले भने।
कुन वर्ष सेयर धितो कर्जा कति प्रवाह ?
आर्थिक वर्ष | सेयर धितो कर्जा |
२०८१/८२ | ३८ अर्ब ५७ करोड |
२०८०/८१ | १० अर्ब ८० करोड |
२०७९/८० | -५ अर्ब ८० करोड |
२०७८/७९ | -१८ अर्ब ६९ करोड |
२०७७/७८ | ४४ अर्ब १६ करोड |
एक करोड माथिको सेयर धितो कर्जा सबैभन्दा धेरै ५८.१ प्रतिशतले वृद्धि भएको छ। यस्तो कर्जा ११ महिनामा ३२ अर्ब ४९ करोड रुपैयाँ प्रवाह भएको छ।
५० लाखदेखि १ करोडसम्मको कर्जा २३.१ प्रतिशतले बढेको छ। यस्तो कर्जा ११ महिनामा २ अर्ब ८७ करोड थपिएको छ। २५ देखि ५० लाखसम्मको कर्जा १७ प्रतिशत र २५ लाखसम्मको कर्जा १०.४ प्रतिशतले वृद्धि भएको छ।