
काठमाडौं । कर फर्स्योट आयोगका तत्कालीन सदस्यसचिव चुडामणि शर्मालाई विषेश अदालतमा उपस्थित गराइएको छ।
व्यापारिक घरानालाई लाभ हुने गरि गैरकानुनीरुपमा कर छुट दिएर राज्यलाई नोक्सानी पुर्याएको मुद्दामा सर्वोच्च अदालतले विशेष अदालतको फैसला बदर गरेपछि उनलाई आज विषेश अदालतमा उपस्थित गराएको हो।
विशेष अदालतले उनलाई दोषी ठहर गर्दै सजाय सुनाएपछि कैद भुक्तानको लागि डिल्लीबजार कारागारमा राखिएको थियो। बुधबार दिउँसो ४ बजेतिर विषेश अदालतमा उनलाई उपस्थित गराइएको हो।
मंगलबार सर्वोच्चका न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले विशेष अदालतको फैसला बदर गर्दै पुनः सुनुवाई गर्न आदेश दिएको छ। सर्वोच्चको यो आदेशसँगे विशेष अदालतले कर फर्स्योटको मुद्दामा फेरि सुरुबाटै सुनुवाई गर्नुपर्ने भएको छ।
विषेश अदालतको पत्रको आधारमा आज उनलाई अदालतमा हाजिर गराएको डिल्लीबजार कारागारका एक कर्मचारीले जानकारी दिए।
‘अदालतको आदेश अनुसार छोड्ने वा के गर्ने भन्ने आदेश हुन्छ त्यही गर्छौं,’ कारागार कर्मचारीले भने।
विशेषले उनलाई रिहा गरेर वा हिरासतमा राखेर पुनः सुनवाई गर्नेछ। विशेष अदालतले २०८० जेठ १८ गते कर छुटको मुद्दामा कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्यसचिव चुडामणि शर्मालाई दोषी ठहर गरेको थियो।
आयोगमार्फत् १० अर्ब २ करोड १७ लाख भ्रष्टाचार गरेको आरोपमा अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले महतलाई ९ वर्ष १ महिना तथा ढकाल र शर्मालाई ९ वर्ष कैद सजाय सुनाएको थियो।
अदालतले तीनै जनालाई जनही २ अर्ब ५ करोड २३ लाख ४८ हजार ९ सय ४९ रुपैयाँ बिगो र जनही ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८ सय ९८ रुपैयाँ जरिवानाको फैसला गरेको थियो।
‘सर्वोच्च अदालतको आदेश अनुसार कसरी सुनावई गर्ने भन्ने हुन्छ। यदी कुनै कुरामा सुनुवाई बाँकी छ गर्नु भनेर फैसला भए त्यही अनुसार गर्ने छौं,’ विषेश अदालतका अध्यक्ष टेकनारायण कुँवरले बुधबार पत्रकार सम्मेलनमा भने।