नारायणगढ-बुटवल खण्ड एकतर्फी रुपमा संचालनमा, दुईतर्फी खुलाउन काम हुँदै

बिजमाण्डू
२०८२ असार २५ गते १३:०१ | Jul 9, 2025
नारायणगढ-बुटवल खण्ड एकतर्फी रुपमा संचालनमा, दुईतर्फी खुलाउन काम हुँदै
तस्बिर : नारायणगढ-बुटवल सडक योजना

काठमाडौं। पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल खण्ड एकतर्फी रुपमा संचालनमा आएको छ। अबको केही समयमा दुईतर्फी यातायात संचालन हुने नारायणगढ-बुटवल सडक योजनाले जनाएको छ।

Tata
GBIME

नारायणगढ-बुटवल खण्डको दाउन्नेमा पहिरोले सडक बगाउँदा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो। सडक आवश्यक मर्मत गरी एकतर्फी संचालन गरिसकिएको आयोजनाले जानकारी दिएको छ।

गए रातिदेखि परेको वर्षाका कारण दाउन्ने नजिक बर्दघाट-४ खुर्सानी खोलामा आएको पहिरोले सडकको केही भाग बगाउँदा आज बिहानबाट राजमार्ग पूर्ण रुपमा अवरुद्ध थियो।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापश्चिम)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तका अनुसार पहाडमाथिबाट पहिरो खस्दा सडकको केही भागसमेत बगेको थियो।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ क ५८२७ नम्बरको मालवाहक ट्रक पहिरोका कारण सडकको बीचमा फसेको थियो।

सडकमा करिब ५० मिटर पहिरो खसेको थियो। पहिरो हटाउनका लागि सडक योजनाका कर्मचारी, प्रहरी तथा सुरक्षाकर्मी खटिएका छन्।

४ लेनमा विस्तार भइरहेको यस सडकको दाउन्ने खण्डमा सामान्य वर्षा हुँदा पनि यातायात अवरुद्ध हुने गरेको छ।