
काठमाडौं। नेपाल राष्ट्रिय व्यवसायी महासंघले व्यवसायीले ल्याएको सामान सुरक्षित स्थानमा राख्न अपिल गरेको छ। रसुवागढीमा मंगलबार बिहान भोटेकोशी नदीको बाढीले गरेको क्षतिपछि व्यवसायी चिन्तित छन्। बाढीबाट जोगिएका मालवस्तु छिटै सुरक्षित ठाउँमा सार्न पाए क्षति घट्ने उनीहरुको भनाइ छ।
भीषण बाढीले चीन जोड्ने नाका र त्यस आसपासका क्षेत्र प्रभावित भएको छ। बाढीले मितेरी पुल, केही ठाउँका सडक तथा भौतिक संरचनाहरु मात्रै बगाएको छैन, बाटो र भन्सार परिसरमा रहेका गाडी र कन्टेनर बगाएको छ। व्यवसायीहरुको मालवाहक कन्टेनर तथा सवारीसाधन बगाएपछि महासंघले चासो लिएको हो।
यतिबेला उक्त क्षेत्रमा व्यवसायीले चीनबाट चाडपर्वलाई लक्ष्य गर्दै आयात गरेका सामान थिए। के कति बगे र क्षति भए भन्ने पूर्ण विवरण अझै आइसकेको छैन। तर, आयातकर्ता व्यवसायी आत्तिएका छन्। त्यसैले बाढीबाट जोगिएका कन्टेनर र सामानलाई सुरक्षित स्थानमा राख्न महासंघले सरकारसँग माग गरेको हो।
साथै क्षतिग्रस्त भौतिक संरचनाहरु पुननिर्माण गरि छिटो भन्दा छिटो कार्य संचालनको वातावरण मिलाइदिन सरकार र सम्बन्धित निकायहरुलाई संघले अपील गरेको छ।
संघले बाढीमा फसेका र घाइतेहरुको उपचार तथा हराएका खोजतलास र राहतको व्यवस्था गर्न माग गरेको छ।