लगातार दोस्रो जितको खोजीमा नेपाल, दक्षिण एसियाली प्रतिद्वन्द्वी श्रीलंकासँग भिड्दै

बिजमाण्डू
२०८२ असार १८ गते ११:३० | Jul 2, 2025
लगातार दोस्रो जितको खोजीमा नेपाल, दक्षिण एसियाली प्रतिद्वन्द्वी श्रीलंकासँग भिड्दै
ग्राफिक्स: एन्फा

काठमाडौं। नेपाली महिला फुटबल टोली आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’को दोस्रो खेलमा नेपाल र श्रीलंका आमनेसामने हुन लागेका हुन्।

Tata
GBIME

यो खेल आज उज्बेकिस्तानस्थित बुन्लोडकोर स्टेडियममा साँझ सवा ६ बजे सुरु हुनेछ। खेल उज्बेकिस्तान एफएको युट्युव च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ।

समूह ‘एफ’मा नेपाल, श्रीलंका, लाओस र उज्बेकिस्तान छन्। नेपालले आफ्नो पहिलो खेलमा लाओसलाई ९-० गोलले हराएको थियो। अर्कोतर्फ श्रीलंका आफ्नो पहिलो खेलमा घरेलु टोली उज्बेकिस्तानसँग १०-० गोलअन्तरले पराजित भएको थियो।

यो समूहमा श्रीलंका फिफा वरीयतामा सबैभन्दा तल रहेको टोली हो। श्रीलंका वरीयतामा १५९ औँ स्थानमा छ। नेपाल १०० औँ स्थानमा छ। नेपाल हालसम्म श्रीलंकासँग पराजित भएको छैन।

तस्बिर : एन्फा।

एसिया कपको छनोटको होडमा ३४ राष्ट्रहरू छन्। जसलाई ४ टिमको ६ वटा र ५ टिमको दुईवटा गरी ८ वटा समूहमा बाँडिएको छ।

क्वालिफायरका खेलहरू जुन २३ देखि जुलाई ५ सम्म हुनेछन्। हरेक टोलीका समूह विजेता एसिया कपमा पुग्नेछन्। आयोजक अस्ट्रेलियासहित चीन, जापान र दक्षिण कोरियाले एसिया कप खेल्ने पक्का भइसकेको छ।

नेपाली टोली

गोलकिपर : एन्जिला तोम्बाफो सुब्बा, उषा नाथ, अञ्जना राना मगर

डिफेन्डर : गीता राना, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाइ, प्रतिक्षा चौधरी, विमला विके, पूजा राना, अमृता जैशी

मिडफिल्डर : विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सबिता रानामगर, सरस्वती हमाल

फर्वार्ड्स : सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, चन्द्रा राई, अनिता केसी