
काठमाडौं। चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द गरिएको छ। निकुञ्जले वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननको समय भएको भन्दै सोमबारदेखि जिप सफारी बन्द गरेको हो।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले असोजको दोस्रो सातासम्मका लागि निकुञ्जमा जिप सफारी बन्द गरिएको बताए।
वर्षाको समय जङ्गली जनावरका लागि प्रजननको समय मानिन्छ। यस समयमा मानिसहरू निकुञ्जभित्र प्रवेश गर्दा जङ्गली जनावरको बासस्थान तथा प्रजननमा पनि दख्खल पर्न सक्ने भन्दै निकुञ्जले जिप सफारी बन्द गरेको हो।
निकुञ्ज प्रशासनले हरेक वर्ष बाढीको समयमा व्यावसायिक जिप सफारी बन्द गर्ने गरेको छ। निकुञ्जको सौराहा क्षेत्रबाट ३२, कसराबाट २१, मेघौलीबाट ११ र नवलपरासीबाट नौवटा जिपले निकुञ्जभित्र पर्यटक घुमाउने गर्छन्।
निकुञ्जबाहिरका मध्यवर्ती वन क्षेत्रमा भने जिप सफारी नियमित सञ्चालन हुनेछ।