
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको ४ दशकपछि नेपाली महिला फुटबल टोलीले आज आफ्नो सयौं खेल खेल्दैछ। एएफसी महिला एसियन कप छनोटको समूह ‘एफ’ मा आज लाओसविरुद्ध मैदान उत्रँदै सन् १९८६ मा पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको नेपाली टोलीले आफ्नो सयौं खेल खेल्नेछ।
यो खेल विशेष यस अर्थमा मात्र छैन। नेपाली टोली एसिया कप पुग्न तीन खेलले पछाडि छ। आज लाओस, बुधबार श्रीलंका र शनिबार उज्बेकिस्तानसँग खेल्ने नेपाली टोली समूहको शीर्षमा रहन सके एसिया कप पुग्ने अवसर हुनेछ।
नेपाली टोलीको कप्तानी समेत सम्हालिसकेकी रेनुका नगरकोटी टोलीकी अनुभवी खेलाडी मध्ये एक हुन्। यसपाला अट्याकिङ फुटबलमा टोलीले तयारी गरेको उनी बताउँछिन्।
‘१५ वर्ष खेल्दा बल्ल ५५/५६ खेल खेलेकी छु। बीचमा अन्तर्राष्ट्रियमात्रै होइन घरेलु फुटबलमा पनि ग्याप भयो। अहिलेको अवस्थामा महिला फुटबल धेरै भइरहेको छ। यसले सुधार पनि देखिइरहेको छ,’ उज्बेकिस्तानमा उनले भनिन्,’ पहिला हामी डिफेन्सिभ खेल्थ्यौँ भने अहिलेको प्रशिक्षकले अट्याकिङ फुटबल खेलाउनु हुन्छ। पहिला अलि डराएर खेल्थ्यौँ अहिले चाहिँ डराउन पर्दैन अगाडि नखेली स्कोर हुँदैन भन्ने हिसाबले सिकाइरहनु भएको छ।’
त्यस्तै, गोलकिपर उषा नाथ १०० खेल खेल्दा पनि ट्रफी नउचालेकोमा अब त्यो अवसर आउने बताउँछिन्।
‘धेरै कुराहरु सुधार भएको छ। किपरदेखि स्ट्राइकर सम्मले नयाँ कुरा सिक्ने अवसर पाएका छौँ।’ नाथले भनिन्।
त्यस्तै, टोलीका सिनियर खेलाडी सावित्रा भण्डारी र एन्जिला तोम्बाफो नेपालको सयौँ खेलमा गौरव भएको बताउँदै यति समयमा सय खेल मात्र पुग्नु कम भएको उज्बेकिस्तान जानुअघि बताएका थिए।

कस्तो छ लाओसको टोली?
लाओससँग नेपाली महिला टोली पहिलो पटक आमनेसामने हुँदैछ। फिफा वरीयतामा नेपाली टोली १०० औँ स्थानमा छ भने लाओस १०७ औँ स्थानमा छ। वरीयतामा माथिल्लो स्थानमा रहे पनि पछिल्ला केही खेलहरुमा नेपाली टोलीले जितको स्वाद चाख्न पाएको छैन।
अझ, ‘सदावहार उपविजेता’ त नेपालले पाएको उपाधिजस्तै बनेको छ। साफ च्याम्पियनसिप, वाफ च्याम्पियनसिप, नाडेज्दा कप, हिरोकप जस्ता दर्जन बढी प्रतियोगिताको फाइनल खेलिसकेको नेपालको अहिलेको लक्ष्य छ: एसिया कप पुग्ने।
उसो त लाओसको पनि पछिल्ला खेलको नतिजा राम्रो भने छैन। पछिल्ला चार खेलमा दुईवटामा साउदी अरब र मलेसियासँग हार ब्यहोरेको छ भने एउटामा भुटानसँग बराबरी खेलेको छ। त्यस्तै एउटा खेलमा टाइब्रेकरमा पाकिस्तानसँग पराजित भएको छ।
उज्बेकिस्तानको तापक्रमसँग समायोजन चुनौती हुनसक्ने नेपाली टोलीका प्रशिक्षक प्याट्रिक डी वाइल्डले बताएका थिए।
नेपाल तयार!
नेपाली टोलीकी मिडफिल्डर सरु लिम्बू आफ्नो ध्यान एसिया कप पुग्नेमा रहेको बताउँछिन्।
‘हाम्रो खेल आइरहेको छ। त्यसका लागि हामी उत्साहीत छौं। मेरो व्यक्तिगत पचासौँ क्याप भन्दा पनि खेल कसरी जित्ने भन्ने छ। एसिया कप पुगौं भन्ने लक्ष्य छ,’ मिडफिल्डर सरु लिम्बू भन्छिन्।
प्रतिक्षा चौधरी पहिलो पटक टोलीमा परेकी छिन्। उनी टोलीमा परेर धेरै कुरा सिकेको बताउँदै छनोटका लागि तयार भएको बताउँछिन्।
‘अब कोचलाई खेलमा आवश्यक ठानेको बेलामा म योगदान दिन तयार छु। डेब्युका लागि तयार छ। टोलीमा धेरै कुरा सिक्न पाइरहेको छु। यो क्वालिफायर जित्छौँ भन्ने विश्वास छ,’ उनले भनिन्।
रेनुका नगरकोटीले राष्ट्रिय टोलीबाट खेलेको १५ वर्ष भयो। उनी टिमवर्क शैलीमा परिवर्तन भएको भन्दै एसिया कप पुग्नेमा विश्वासी छन्।
‘१५ वर्ष भयो मैले राष्ट्रिय टोलीबाट खेलेको। अहिलेसम्म हामीले प्रोलाइसेन्स प्राप्त प्रशिक्षक पाएका थिएनौं। अहिलेको प्रशिक्षकको खेलाउने तरिका फरक छ। अहिलेको म्याच हाम्रो फरक हुन्छ,’ रेनुका नगरकोटी भन्छिन्।
एसिया कपको छनोटको होडमा ३४ राष्ट्रहरू छन्। जसलाई ४ टिमको ६ वटा र ५ टिमको दुईवटा गरी ८ वटा समूहमा बाँडिएको छ।
क्वालिफायरका खेलहरू जुन २३ देखि जुलाई ५ सम्म हुनेछन्। हरेक टोलीका समूह विजेता एसिया कपमा पुग्नेछन्। आयोजक अस्ट्रेलियासहित चीन, जापान र दक्षिण कोरियाले एसिया कप खेल्ने पक्का भइसकेको छ।
नेपाली टोली
गोलकिपर : एन्जिला तोम्बाफो सुब्बा, उषा नाथ, अञ्जना राना मगर
डिफेन्डर : गीता राना, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाइ, प्रतिक्षा चौधरी, विमला विके, पूजा राना, अमृता जैशी
मिडफिल्डर : विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सबिता रानामगर, सरस्वती हमाल
फर्वार्ड्स : सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, चन्द्रा राई, अनिता केसी