सरकारले ‘होल्ड’ गराएको संघीय निजामती विधेयक भोलि प्रतिनिधि सभाबाट पारित गरिने

बिजमाण्डू
२०८२ असार १४ गते १८:३० | Jun 28, 2025
सरकारले ‘होल्ड’ गराएको संघीय निजामती विधेयक भोलि प्रतिनिधि सभाबाट पारित गरिने
फाइल फोटो।

काठमाडौं। आइतबारको प्रतिनिधि सभा बैठकमा निजामती सेवासम्बन्धी विधेयक पेस गरिने भएको छ।

Tata
GBIME

आइतबारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८० माथि छलफलका लागि प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको छ।

मन्त्री गुप्ताले ‘संघीय निजामती सेवा विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।

यसअघि, सरकारले निजामती सेवासम्बन्धी विधेयक प्रतिनिधि सभामा ‘होल्ड’ गराएको थियो। दुई वर्षको कुलिङ पिरियडप्रति मुख्यसचिव एकनारायण अर्याल र सचिवहरुले तीव्र असन्तुष्टि जनाउँदै आएपछि कार्यसूचीमा चढिसकेको विधेयक सरकारले एकाएक ‘होल्ड’ गराएको थियो।

विधेयक असार ३ गतेको बैठकमै पारित गर्ने कार्यसूचीमा चढिसकेको थियो। राज्य व्यवस्था तथा सुशासन समितिले जेठ २ गते अन्तिम रुप दिएको विधेयक असार १ गते प्रतिनिधि सभामा पेस भएको थियो।

कुलिङ पिरियडको व्यवस्थाप्रति सचिवहरू जस्तै प्रधानमन्त्री केपी शर्मा ओली पनि असन्तुष्ट रहेकाले विधेयक होल्ड हुन पुगेको सत्तारुढ दलकै नेताहरूले बताएका थिए।

निजामती सेवाबाट अवकाश पाएका र राजीनामा गरेका कर्मचारीले दुई वर्षसम्म संवैधानिक र सरकारी नियुक्ति लिन नमिल्ने गरी ‘कुलिङ पिरियड’ राखिएको थियो। उक्त प्रावधान सच्याउन मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा सचिवहरुको टोलीले राजनीतिक नेतृत्वसँग भेटघाट गरेका थिए।