ओलीको ‘रेड सिग्नल’ले लाग्ला पूर्वराष्ट्रपति भण्डारीको एमाले हाँक्ने योजनामा ‘ब्रेक’?

प्रकाश भण्डारी
२०८० भदौ ७ गते २१:३१ | Aug 24, 2023
ओलीको ‘रेड सिग्नल’ले लाग्ला पूर्वराष्ट्रपति भण्डारीको एमाले हाँक्ने योजनामा ‘ब्रेक’?


काठमाडौं। साउन २८ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे टिप्पणी गरे- ‘कार्ड नै छपाएर लैजानुभयो होला त? पार्टीमा आइदिनुपर्‍यो भनेर।’

Tata
GBIME

भण्डारीलाई पार्टीमा फर्काउन सक्रिय नेताबारे ओलीले टिप्पणी मात्रै गरेनन्, वकालत नगर्न चेतावनी नै दिए। भण्डारीलाई ओलीको ‘रेड सिग्नल’ नै थियो त्यो।

राजनीतिमा फर्कने सन्देश भण्डारीले भर्खरै मात्र दिएकी थिइनन्। राष्ट्रपतिको रुपमा आफ्नो दोस्रो कार्यकालको उत्तरार्धदेखि नै उनी सक्रिय थिइन्।

शीतल निवासबाट गत फागुन २९ मा विदा भएपछि भने पार्टीकै केही नेता भण्डारीलाई पार्टीमा ल्याउन तल्लिन भएको चर्चा एमालेभित्र छ। त्यसैले ओलीको चेतावनीयुक्त सन्देश छ – अभिभावक भइसकेको व्यक्ति सम्मानका साथ बसुन्। पार्टी चलाउने रहर गर्ने होइन्।   

एमालेले गरेको पत्रकार सम्मेलन। तस्वीर : ओलीको सचिवालय

भण्डारीले थालेको ‘होमवर्क’

२०६५ फागुनमा बुटवलमा सम्पन्न ८ औं र २०७१ साउनमा काठमाडौंमा सम्पन्न एमालेको ९ औं महाधिवेशनबाट उपाध्यक्ष चयन भएकी भण्डारी ओली निकट नेता हुन्। अखिल नेपाल महिला संघ र पार्टी पार्टीमार्फत सक्रिय राजनीतिमै रहेका बेला भण्डारीलाई ओलीले नै २०७२ कार्तिक ११ गते पहिलो र २०७४ साल फागुन २९ मा दोस्रोपटक राष्ट्रपति बनाए। भण्डारीको कार्यकालमा ओली पनि दुई पटक प्रधानमन्त्री बने। राष्ट्रपति हुँदा ओलीप्रति नरम बनेको आरोप भण्डारीमाथि लाग्यो। 

भण्डारीले नेता/कार्यकर्तासँग बढाएको भेटघाटले एमालेभित्र तरंग पैदा गरिरहेको छ। उनले पछिल्लो समय एमालेको राजनीतिमा फर्किने/नफर्किनेबारे नेताहरुसँग लामै संवाद गर्ने गरेकी छन्। एमालेमा कुनै गुटमा सक्रिय नरहेका नेता/कार्यकर्तालाई पनि भण्डारीले छलफलमा बोलाइरहेकी छन्। तर निचोडमा पुगि नसकेको उनी निकट स्रोत बताउँछ।

२०७९ फागुन २९ मा शीतल निवासबाट भण्डारीको बिदाइ

नेताहरुका अनुसार केहि समययता भने ओली- भण्डारी सम्बन्ध सुमधुर छैन। राजनीतिक भेटलाई भण्डारीले तीव्र बनाएपछि ओली झस्किएका छन्। पूर्वराष्ट्रपतिका हिसाबले पाउने गाडी र घरभाडाबापतको सुविधा नलिनुलाई पनि ओली र उनी निकट नेताले भण्डारीले पार्टीमा सक्रिय हुन चाहेको सन्देशका रुपमा लिएका छन्।

भण्डारीले नेता/कार्यकर्तासँग बढाएको भेटघाटले एमालेभित्र तरंग पैदा गरिरहेको छ। उनले पछिल्लो समय एमालेको राजनीतिमा फर्किने/नफर्किनेबारे नेताहरुसँग लामै संवाद गर्ने गरेकी छन्। एमालेमा कुनै गुटमा सक्रिय नरहेका नेता/कार्यकर्तालाई पनि भण्डारीले छलफलमा बोलाइरहेकी छन्। तर निचोडमा पुगि नसकेको उनी निकट स्रोत बताउँछ।

ओलीले गरेको संसद विघटनका बेला। तस्वीर : राष्ट्रपतिको कार्यालय

भेट्न जाने केही नेता कार्यकर्ताले नै पार्टीको नेतृत्वमा आउन आग्रह गर्ने गरेको भण्डारी निकट स्रोतले बतायो। ‘उहाँलाई राष्ट्रपति भएका बेलामा भेट्न नपाएकाहरु स्वाभाविकरुपले अहिले आउनुहुन्छ। विभिन्न विषयमा उहाँहरुको छलफल हुने गरेको छ। राजनीतिबारे पनि चासो र चर्चा राष्ट्रपतिले गर्नुभएको छ। यो क्रम त जारी नै छ,’ स्रोतले भन्यो।

भण्डारीलाई एमालेको नेतृत्वमा ल्याउनुपर्ने विचार राख्ने मध्येका एक स्थायी कमिटी सदस्य कर्ण थापाले साझा व्यक्ति नै भण्डारी भएको बताए। ‘एमालेको नेतृत्वका लागि साझा व्यक्ति भण्डारी नै हो। यस विषयमा थप व्याख्या टिप्पणी गरिरहन आवश्यक छैन,’ थापाले भने।

एमालेको नेतृत्वका लागि साझ व्यक्ति भण्डारी नै हो। यस विषयमा थप व्याख्या टिप्पणी गरिरहन आवश्यक छैन।

एमाले नेता कर्ण थापा। तस्वीर : थापाको फेसबुकबाट

ओली झस्कनुको अर्थ

९ औं र १० औं महाधिवेशनबाट अध्यक्ष भइसकेका ओली फेरि पनि अध्यक्ष बन्ने दाउमा छन्। चितवनमा सम्पन्न १० औं महाधिवेशनमा ओलीले आफूलाई अध्यक्षमा निर्विकल्प प्रस्तुत गर्ने कसरत गरे। तर नेता भीम रावलले चुनौती दिएपछि ओलीले चुनावी प्रक्रियाको सामना गर्नुपर्‍यो। १० औं महाधिवेशनभन्दा अघि ललितपुरको गोदावरीमा सम्पन्न एमालेको विधान महाधिवेशनले ७० वर्षे उमेर हदको व्यवस्था गरेको थियो।

उमेर हदको व्यवस्थालाई ओलीले सचिवालय बैठकबाट हटाइसकेका छन्। पूर्वएमाले नेतालाई पार्टीमा फर्काउन नियम निलम्बन मात्रै गरिएको भनिए पनि ओलीले आफैं सार्वजनिकरुपमा उमेर हदको व्यवस्था अनुपयुक्त भएको बताइसकेका छन्। अब उमेर हदले ओलीलाई अर्को कार्यकाल अध्यक्ष हुन रोक्ने छैन।

ओलीले भण्डारीको पक्षमा नलाग्न नेता/कार्यकर्तालाई चेतावनी दिइरहेका छन्।

एमालेको दशौं महाधिवेशनको बन्द सत्रमा महाधिवेशन प्रतिनिधि।

एमालेभित्र ओलीलाई चुनौती दिनसक्ने नेताहरु अहिले शीर्ष तहमा छैनन्। उनीहरुले चित्त नबुझे पनि ओलीका हरेक निर्णयमा ताली पिट्दै आएका छन्। बोल्दा भीम रावलको जस्तो किनारा लाग्नुपर्ने हालत हुने बुझेर पदाधिकारीहरुले ओलीका गलत निर्णयमा मुख खोल्ने हिम्मत गर्न सकेको देखिंदैन। तर पूर्वराष्ट्रपति भण्डारीले सक्रियता बढाएपछि भने ओली आफू अप्ठेरोमा पर्नसक्ने बुझाइमा छन्। त्यसैले उनले पूर्वराष्ट्रपतिलाई सक्रिय गराएर पार्टीमा समस्या उत्पन्न गराउन खोजेको भन्दै भण्डारीको पक्षमा नलाग्न नेता/कार्यकर्तालाई चेतावनी दिइरहेका छन्।

फाउण्डेसनको अस्त्र

ओली पूर्वराष्ट्रपति भण्डारीसँग झस्कनुको अर्को कारण हो- मदन भण्डारी फाउण्डेसन। भण्डारीले राजनीतिक गतिविधि आफ्नो निवासमा नेताहरुसँगको भेटघाटमा मात्र सीमित राखेकी छैनन्, एमालेका दिवंगत नेता तथा आफ्ना पतिको नाममा खोलिएको ‘मदन भण्डारी फाउण्डेसन’ मार्फत पनि सक्रियता बढाइरहेकी छन्। कुनै जिम्मेवारीविनै पार्टीका गतिविधिमा लाग्दा सन्देश राम्रो नजाने भएपछि भण्डारी फाउण्डेसनको ब्यानरमा सक्रिय हुन थालेकी हुन्।

मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा ओली र भण्डारी। तस्वीर : ओलीको सचिवालय।

२०७९ फागुन २८ मा राष्ट्रपतिको दोस्रो कार्यकाल सकिएपछि भण्डारी फाउण्डेसनको असार १४ को कार्यक्रममा प्रमुख अतिथि बनेर सहभागी भइन्। ओली विशेष अथितिका रुपमा सहभागी थिए। ‘जबजलाई मार्गदर्शक सिद्धान्त मान्ने पार्टी र त्यसका कार्यकर्ताले यसको सारलाई समातेर जनताको सेवा गर्ने काममा अग्रसर हुनुपर्छ। हामीले जनताको बीचमा गएर नै सम्भावनाको खोजी गर्नुपर्छ,’ भण्डारीले राजनीतिमा सक्रिय हुन सक्ने संकेतसहित भाषण गरेकी थिइन्।

तत्कालीन नेकपाको विवादका बेला ओलीमाथि फाउण्डेसनमार्फत आफ्ना गतिविधि गरेको आरोप तत्कालीन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालपक्षले लगाउने गरेको थियो। माओवादीसँगको एकता भंग भएर एमाले ब्युँतिएपछि ओलीले मदन भण्डारीको विचारलाई प्रचार गरेर संगठन जोगाएको ओलीले बताउने गरेका थिए।

ओली गुटमै रहेका गोकुल बास्कोटा, खगराज अधिकारी, कर्ण थापा, शेरधन राई, डोरमणि पौडेल लगायतले भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन भेटघाट बाक्लो बनाएका छन्।

पूर्वराष्ट्रपति भण्डारी

अहिले त्यही फाउण्डेसन ओलीका लागि अप्ठेरो बनेको छ। ओली असार १४ मा राष्ट्रिय सभागृहमा आयोजित फाउण्डेसनको कार्यक्रममा भण्डारीसँग थप झस्किन पुगे। ओली कार्यक्रममा पूरा अवधि बसेनन्।

एमालेभित्र फाउण्डेसनमार्फत पकड जमाएका नेताहरु पटक/पटक मन्त्री र विभिन्न पदमा पुग्ने गरेका छन्। फाउण्डेसनको देशव्यापी नेटवर्क र एमालेको गुट राजनीतिमा महत्वपूर्ण भूमिका रहने भएकैले ओ‌ली भण्डारीसँग थप सशंकित हुन पुगे। किनभने ओली गुटमै रहेका गोकुल बास्कोटा, खगराज अधिकारी, कर्ण थापा, शेरधन राई, डोरमणि पौडेल लगायतले भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन भेटघाट बाक्लो बनाएका छन्।

अरु नेता ओलीको उत्तराधिकारी हुन नसक्ने भन्दै भण्डारी नै साझा व्यक्ति हुने बुझाइ भण्डारीसँग भेटवार्ता बाक्लो बनाएका नेताहरुको छ। एमालेलाई एकतावद्ध बनाउन पूर्वराष्ट्रपति भण्डारी नै उपयुक्त पात्र भएको निचोडमा यी नेता छन्। उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले नेतृत्व गर्न नसक्ने भन्दै भण्डारीलाई नेतृत्वमा ल्याउनुपर्ने कसरतमा उनीहरु छन्। पोखरेल र पौडेलले एमालेलाई सशक्त बनाउन नसक्ने बुझाइ भण्डारीको पक्षमा देखिएका नेताहरुको छ। 

हाम्रो पार्टीभित्र कुनै समस्या आउँछ कि, ल्याउन सकिन्छ कि भनेर फेरि कोसिस भएको छ

ओली
मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा ओली। तस्वीर : ओलीको सचिवालय

ओलीले भने भण्डारीलाई राजनीतिमा ल्याउन खोजे पार्टीमा समस्या हुने चेतावनी साउन २८ को पत्रकार सम्मेलनमार्फत दिइसकेका छन्। ‘हाम्रो पार्टीभित्र कुनै समस्या आउँछ कि, ल्याउन सकिन्छ कि भनेर फेरि कोसिस भएको छ,’ ओलीले भनेका थिए। फाउण्डेसनमार्फत ओली र भण्डारीले पटक पटक ‘पावर एक्सरसाइज’ गरेको चर्चा एमालेमा छ। अहिले पनि ओली र भण्डारीबीच फाउण्डेसनबारे मनमुटाव रहेको भण्डारी निकटहरु बताउँछन्।

चीनका लागि नेपालका पूर्वराजदूत महेन्द्र बहादुर पाण्डे अहिले फाउण्डेसनको अध्यक्ष छन्। त्यसअघि अध्यक्ष भण्डारीकी छोरी उषाकिरण थिइन्। फाउण्डेसनको कार्यसमितिमा रहेकाहरु राजनीतिक नियुक्तिमार्फत विभिन्न सरकारी पदमा पुग्ने गरेका छन्। जसकारण पनि एमालेभित्रको राजनीतिमा फाउण्डेसन महत्वका साथ हेर्ने गरिन्छ। एमालेको गुट राजनीतिमा फाउण्डेसनमा सक्रिय रहेकाहरु नै शीर्ष तहमा आउने गरेका छन्।

पूर्वराष्ट्रपतिले मुख मिठ्याए ठिक हुन्न’

ओलीको उत्तराधिकारीकारुपमा भण्डारीलाई पार्टीमा भित्र्याउन केही नेताले जोडबल गर्दा ओली निकट अर्को पक्षले भने पूर्वराष्ट्रपतिको चाहना नै बेठीक भएको तर्क गरिरहेको छ। भण्डारी राजनीतिमा आए जनताको बहुदलीय जनवाद (जबज) नै विशाक्त हुने केन्द्रीय सदस्य दयालबहादुर शाही बताउँछन्।

‘राष्ट्रपति भइसकेकी विद्यादेवी भण्डारीलाई एमालेमा ल्याउन हुन्न। उहाँले फेरि मुख मिठ्याउन हुन्न।’

दयालबहादुर शाही
एमाले नेता दयालबहादुर शाही। तस्वीर : शाहीको फेसबुकबाट

‘राष्ट्रपति भइसकेकी विद्यादेवी भण्डारीलाई एमालेमा ल्याउन हुन्न। उहाँले फेरि मुख मिठ्याउन हुन्न। राष्ट्रपति भइसकेको मानिसले पार्टी अध्यक्ष ताक्नु भनेको जबजलाई विशाक्त पार्न खोज्नु हो। पूर्वराष्ट्रपतिज्यूले पार्टीमा फर्किनेबारे सोच्नै हुन्न,’ शाहीले भने।

असार २८ को पत्रकार सम्मेलनमार्फत ओलीले दिएको चेतावनी पछि भण्डारीको पक्षमा एमालेका कोही नेता नलाग्ने दाबी शाहीको छ। ‘अध्यक्षले बोलिसकेपछि एमालेमा कसैले अब बोल्छन् जस्तो लाग्दैन। ओलीको निर्देशन नै कानुन हो। पार्टी, नेपाल देश र लोकतन्त्र बचाएको हुनाले ओलीलाई एमालेले मान्छ,’ शाहीले भने।

एमालेभित्र अहिले पदाधिकारी तहमै ओली र भण्डारी पक्ष देखिन थालेको छ। पार्टी कमिटीका बैठकहरुमा नै ओलीले भण्डारीको पक्षमा रहेका नेतामाथि आक्रोश पोख्ने गरेको एमालेका एक नेताले बताए। ‘अहिले स्पष्ट रुपमा भण्डारीको पक्षमा र ओलीको पक्षमा भन्ने देखिएको छ। भण्डारीबारे बोल्ने नेतालाई कारवाही गर्नुपर्छ भन्ने माग पनि छ,’ ती नेता भन्छन्। 

केही नेताहरु अहिले एकातिर भण्डारीलाई रोक्नुपर्ने पक्षमा छन् भने अर्कातिर १० औं महाधिवेशनपछि भूमिकाविहीन रहेका पूर्वउपाध्यक्ष भीम रावललाई पुरानै अवस्थामा फर्काउनुपर्ने लबिङमा छन्।

ओली-रावल वार्ता। तस्वीर : ओलीको सचिवालय

शाही लगायतका केही नेताहरु नै अहिले एकातिर भण्डारीलाई रोक्नुपर्ने पक्षमा छन् भने अर्कातिर १० औं महाधिवेशनपछि भूमिकाविहीन रहेका पूर्वउपाध्यक्ष भीम रावललाई पुरानै अवस्थामा फर्काउनुपर्ने लबिङमा छन्।

शाहीले रावललाई पार्टीमा सक्रिय बनाउनेबारे ओलीसँग छलफल गरेको बताए। उनले यस विषयमा रावलसँग पनि कुरा गरेका छन्। ‘भीम रावलले केही नपाए पनि आफ्नै पार्टीमा बस्नु पर्छ। अध्यक्षले पनि उपाध्यक्ष भइसकेको व्यक्तिलाई काममा फर्काउनुपर्छ। कुण्ठित हुने वातावरण एमालेले बनाउनु हुन्न,’ शाहीले भने। ओलीले २० महिनापछि रावललाई पार्टी कार्यालयमा बोलाएर छलफल गर्नुलाई भण्डारीलाई रोक्ने प्रयास भनी एमालेमा चर्चा छ। 

ओलीको ‘रेड सिग्नल’ले रोकिएलिन भण्डारी?

पूर्वराष्ट्रपति भण्डारीले पार्टी राजनीतिमा फर्कने/ नफर्कनेबारे एमाले वृत तरंगित भइरहँदा केही फ्याक्टर केलाउनै पर्ने हुन्छ। एमालेमा अहिले ओलीको उत्तराधिकारी बन्न सक्ने नेताको अभावलाई भण्डारी निकटले राम्रोसँग विश्लेषण गरिरहेका छन्। अर्कातिर उनले पूर्वराष्ट्रपति डा. रामवरण यादवजस्तो आफूलाई निस्क्रिय राख्न चाहिरहेकी छैनन्।

भण्डारी निस्क्रिय हुन नचाहनुका दुई कारण छन्- पहिलो, आफ्नै उमेर। दोस्रो, मदन भण्डारी फाउण्डेसनको जग।

भण्डारी निस्क्रिय हुन नचाहनुका दुई कारण छन्- पहिलो, आफ्नै उमेर। दोस्रो, मदन भण्डारी फाउण्डेसनको जग र लिगेसी।उनी अहिले ६२ वर्षकी भइन्। जसलाई उनी निकटहरुले राजनीतिमा फर्किने बलियो आधार मानिरहेका छन्। ‘एउटा लिगेसी बोक्नु भएको मान्छे हो। उहाँ पार्टीमा जोडिनुपर्ने धेरै खालको पृष्ठभूमि तयार भएको व्यक्ति त हो नि त। रामवरण यादव र उहाँमा त फरक छ। दुई पटक पार्टी उपाध्यक्ष हुनुभयो। मन्त्री हुनुभयो। महिला संघको नेतृत्व गर्नुभयो। सदनमा महिलाको ३३ प्रतिशत सहभागिताका लागि वकालत गर्नुभयो,’ भण्डारी निकट स्रोतले भन्यो।

एमालेकै केही नेताको जोडबल पार्टीमा ल्याउने हुँदाहुँदै पनि भण्डारी केही द्विविधामा छिन्।

कार्यकालको अन्तिममा प्रधानमन्त्री प्रचण्डसँग पूर्वराष्ट्रपति भण्डारी।

विवादित पृष्ठभूमिले के गर्ला?

राजनीतिमा ‘कमब्याक’ गर्न ८ वर्ष राष्ट्रपतिको पदमा रहँदा आफू जोडिएका विवादले भने भण्डारीलाई लखेट्ने पक्का छ।तत्कालीन नेकपाका दुई अध्यक्ष प्रचण्ड र ओलीबीच विवाद चर्किंदा पदीय मर्यादा भुलेर पार्टीभित्रको झगडामा २०७६ मंसिर ४ मा आफ्नै उपस्थितिमा सहमति गराएको भन्दै भण्डारीको आलोचना भएको थियो।

२०७७ पुस ५ र २०७८ जेठ ८ मा प्रतिनिधि सभा विघटनलाई तत्कालै सदर गरेर ओलीको पक्षमा उभिएको आरोप पनि भण्डारीमाथि छ। २०७५ को दशैंमा आफूसँग टीका लगाउन आउनेलाई घुँडा टेकाएका तस्वीरले पनि उनी विवादमा परेकी थिइन्।

२०७४ माघ २६ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले कृष्णप्रसाद पौडेल, गोपालकुमार बस्नेत र चाँदनी जोशीलाई राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेका थिए। तर भण्डारीले सिफारिस कार्यान्वयन गर्नको साटो ‘बुझ्नुपर्ने’ भन्दै रोकिदिइन्। तर ओलीले युवराज खतिवडा, विमला राई पौडेल र रामनारायण बिडारीलाई राष्ट्रिय सभा सदस्य बनाउन २०७४ फागुन ८ गते गरेको सिफारिस तत्कालै कार्यान्वन गरिन्। त्यतिखेर पनि पनि प्रश्नको घेरामा परेकी भण्डारी सबैभन्दा बढी विवादमा परेको नागरिकता विधेयकमा हो।

संसदका दुवै सदनले बहुमतले पारित गरेर पठाएको विधेयक समयसीमाभित्र प्रमाणीकरण गर्नुको साटो रोकेपछि उनीमाथि संविधानको ठाडो उल्लंघन गरेको आरोप लाग्यो। उनको त्यो कदम गैरसंवैधानिक भएको सर्वोच्च अदालतले भनिसकेको छ।

एमालेकै केही नेताको जोडबल पार्टीमा ल्याउने हुँदाहुँदै पनि भण्डारी केही द्बिविधामा छिन्। चुनावअघि उदाएर ठूला पार्टीलाई धक्का दिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहको लोकप्रियतालाई आफ्नो नेतृत्वमा टक्कर दिन सकिन्छ भन्ने आत्मबल भने भण्डारीमा कम छ।