गुटबन्दी बढाएको भन्दै भण्डारीसँग ओली सशंकित, आफ्नै नेतृत्वमा पदाधिकारीमा फर्कन प्रस्ताव

बिजमाण्डू
२०८१ पुष १८ गते २१:१८ | Jan 2, 2025
गुटबन्दी बढाएको भन्दै भण्डारीसँग ओली सशंकित, आफ्नै नेतृत्वमा पदाधिकारीमा फर्कन प्रस्ताव

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जारी राखेको राजनीतिक सक्रियताबारे चासो व्यक्त गरेका छन्।

Tata
GBIME

एमालेकी पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीलाई निवासमा पुगेर ओलीले करिब दुई घण्टा कुराकानी गरेको ओलीको सचिवालयले जनाएको छ। एमालेभित्र गुटबन्दी बढेको विषयमा ओलीले भण्डारीसँग चासो राखेका थिए। ‘एमालेभित्रको गुटबन्दी अन्त्य गर्ने र नेतृत्वको विचार सिद्धान्तमा एकताबद्ध हुने भन्ने विषयमा पूर्वराष्ट्रपतिको सहयोग चाहियो भनेर प्रधानमन्त्रीले भन्नुभयो,’ उनले भने।

एमालेको एघारौं महाधिवेशनमार्फत नेतृत्वमा आउने भण्डारीले इच्छा व्यक्त गरिरहेको ओली निकट स्रोतले बतायो। ‘इच्छा नभएको भए त उहाँले पनि किन सक्रियता देखाउनु हुन्थ्यो र? त्यो महाधिवेशनका बेलाको कुरा भयो,’ उनले भने।

भण्डारीले नेतृत्वमै आउने गरी गतिविधि गरेपछि ओलीले आफू नेतृत्वमै पदाधिकारीमा फर्कन प्रस्ताव गरेको पनि स्रोतले बतायो।

पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट निष्कासन गरेको विषयमा पनि भण्डारीले चासो व्यक्त गरेकी थिइन्।

यसअघि नै भण्डारीले पार्टी सदस्यता नवीकरण गरिसकेको एमाले नेताहरू बताउँछन्। पछिल्लो समय भण्डारीले एमाले नेताहरूसँगको भेटघाटलाई तीव्र बनाएकी थिइन्।

उनी केही समयअघि पोखरामा जाँदा पनि त्यहाँ पाँच दिन एमाले नेताहरूसँग भेटेर पार्टी नेतृत्वमा फर्कने विषयमा परामर्श भएको थियो। एमालेकै केही नेताहरूले भण्डारीलाई पार्टी नेतृत्वमा फर्काउन कसरत गरिरहेका छन्।

एमाले सचिव पद्मा अर्यालकै सक्रियतामा भण्डारी पोखरा गएकी थिइन्। त्यहाँ एक दिनको मात्रै कार्यक्रम भए पनि उनी पाँच दिन त्यहाँ बसेकी थिइन्। दुई पटक राष्ट्रपति भइसकेकी भण्डारीले सार्वजनिक रूपमा पनि आवश्यक परे नेतृत्वमा आउने धारणा व्यक्त गरिरहेकी छिन्।

जसप्रति ओली सशंकित बन्न थालेको छन्। व्यवसायी मीनबहादुर गुरुङले पार्टी कार्यालय बनाइदिने घोषणा गरेपछि एमालेभित्र हलचल ल्याएको थियो।

ओली नेतृत्वको सरकारकै बारेमा पनि एमालेभित्र प्रश्न उठिरहेको छ भने कांग्रेससँगको सहकार्यबारे पनि नेताहरूले आलोचना गर्न थालेका छन्। बिहीबार बसेको एमाले सचिवालय बैठक पनि सरकारले सोचे अनुसारको काम नगरेको निचोडमा पुगेको छ।

रावललाई पार्टीबाट निष्कासन गरेको तथा स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई निलम्बन गरेको विषयलाई लिएर पार्टीभित्र ओलीको आलोचना भइरहेको छ। केही नेताहरूले कारबाहीको विषयलाई पुस २१ र २२ गते बस्ने एमालेको केन्द्रीय कमिटीको बैठकमा उठाउने तयारी समेत गरेका छन्। आफू अप्ठेरोमा पर्न लागेपछि ओलीले भण्डारीलाई सहयोग गर्न पनि आग्रह गरेका हुन्।