
काठमाडौं। सेयर बजारमा लगातार तेस्रो दिन गिरावट आएको छ। नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन ४.४५ अंकले घटेर २५९५.७४ विन्दु कायम भएको छ।
नेप्से बुधबार ०.३३ र मंगलबार ०.२२ अंकले घटेको थियो।
कारोबार रकममा भने सुधार देखिएको छ। बिहीबार ७ अर्ब ७८ करोड रुपैयाँको सेयर किनबेच भएको छ। बुधबार ५ अर्ब ७८ करोड र मंगलबार ५ अर्ब ६८ करोडको सेयर कारोबार भएको थियो।
बिहीबार घटेको बजारमा खासगरी विकास बैंकका लगानीकर्ताले कमाएका छन्। ग्रिन डेभलपमेन्ट र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतले उकालो लागेको छ।
१५५ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। पौने ८ अर्बको सेयर किनबेच हुँदा धेरै कारोबार हुने शीर्ष १० कम्पनीको सूचीमा हाइड्रोपावर छन्। बुटवल पावर कम्पनीको सबैभन्दा धेरै ६२ करोड ५२ लाख रुपैयाँको सेयर किनबेच भएको छ।