
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती विधेयक सरकारले होल्डमा राखेकामा असन्तुष्टि जनाएका छन्।
उनले बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सदनमा पुगेर कार्यसूचीमा चढिसकेको विधेयक हटाइनु चिन्ताजनक भएको बताए।
उनले समितिले पारित गरेका विधेयक सदनमा पुग्दासम्म धेरै किसिमका चलखेल हुने गरेको भन्दै अहिले संघीय निजामती विधेयक होल्डमा राखिनुले आशंका बढाएको बताए।
‘हामी समितिमा बस्छौं, छलफल गर्छौं। माननीय सदस्यहरुले अध्ययन गरेर, चिन्तन मनन गरेर पारित गर्छौं। तर, हामीले पारित गरेका विधेयक पनि फूल हाउसमा पुग्ने बेलासम्म धेरै किसिमका चलखेल हुने गरेका छन्। ती सबै अहिले भन्न आवश्यक छैन। केही संवेदनशील र महत्त्वपूर्ण विधेयक समितिबाट पारित गर्यौं। तर, सदनमा पुगेर कार्यसूचीमा चढेर पनि हटाइने जस्तो प्रक्रिया देख्दा मलाई चिन्ता भएको छ,’ उनले भने, ‘कतै फेरि त्यतिकै टारिने त होइन? भन्ने चिन्ता भएको छ। मैले सरकारको ध्यानाकर्षण गराइरहेको छ। म गृहमन्त्रीलाई पनि भन्छु, छेडखानी नगरियोस्, डिले नगरियोस्।’
समितिले जेठ पहिलो साता पारित गरेको संघीय निजामती विधेयक प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्माले होल्ड गराएका छन्।
विधेयक प्रतिनिधि सभाको असार ३ गतेको बैठकबाट पारित गर्ने कार्यसूची रहेकामा त्यसदिन सभामुख देवराज घिमिरेले रास्वपाको अवरोधलाई देखाएर बैठक स्थगित गरेका थिए। त्यसको भोलिपल्ट असार १४ गतेसम्मका लागि बनाइएको कार्यसूचीमा यो विधेयकलाई राखिएको छैन।
प्रचण्डले समितिबाट पारित भएका विधेयक सदनबाट चाँडो पारित गर्नका लागि समितिका सभापति र सांसद पनि गम्भीर हुनुपर्ने बताए।
उनले संघीय निजामती लगायत संघीयता कार्यान्वयनसँग सम्बन्धित महत्वपूर्ण विधेयक चाँडो पारित गर्नका लागि आफ्नो पार्टी लचिलो भएको बताए।
त्यसअघि सत्तारुढ नेकपा एमालेका सांसद बासुदेव घिमिरेले समितिबाट पारित विधेयक माथि गएर किन अड्किन्छन्? भनी प्रश्न गरेका थिए।