
वीरगंज। वीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ७३ अर्ब १८ करोड रुपैयाँ संकलन गरेको छ।
चालु आवको ११ महिनामा ५ थरिका पेट्रोलियम पदार्थ आयात गर्न १ खर्ब ७४ अर्ब ९ करोड रुपैयाँ रकम खर्च भएको छ। आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा भने ४६.४३ प्रतिशत छ।
वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले वीरगंज भन्सारको राजस्वको मुख्य आधार नै पेट्रोलियम पदार्थ र सवारीसाधनको आयातबाट प्राप्त हुने राजस्व रहेको बताए।
त्यस्तै, दोस्रो धेरै राजस्व भने यातायात साधन र तिनका पार्टपुर्जा आयातबाट १७ अर्ब ७० करोड रुपैयाँ राजस्व प्राप्त भएको छ। आयातबाट प्राप्त राजस्वमा यातायातको साधन र पार्टपुर्जाको हिस्सा भने ११.२३ प्रतिशत छ।
त्यसैगरी, कार्यालयले फलाम तथा फलामबाट बनेका सामानबाट ५ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। मेसिनरी तथा पार्टपुर्जा आयातबाट ५ अर्ब २६ करोड रुपैयाँ संकलन भएको छ। इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा आयातबाट ३ अर्ब ६७ करोड रुपैयाँ संकलन भएको प्रमुख भन्सार प्रशासक लामिछानेले बताए।
चालु आवकै ११ महिनामा सबै प्रकारका कपडा आयातबाट ३ अर्ब ६ करोड राजस्व संकलन भएको छ। सोही अवधिमा सुर्ती र सुर्तीजन्य पदार्थको आयातबाट २ अर्ब ५८ करोड रुपैयाँ, शृङ्गारका सामान आयातबाट २ अर्ब ५२ करोड रुपैयाँ, प्लाष्ट्रिकका कच्चा पदार्थ आयातबाट २ अर्ब ३२ करोड रुपैयाँ तथा अन्य लुब्रिकेटिङ आयलको आयातबाट २ अर्ब १९ करोड रुपैयाँ राजस्व कंकलन भएको प्रमुख भन्सार प्रशासक लामिछानेले जानकारी दिए। रासस