
काठमाडौं। प्रतिनिधि सभाले विनियोजन विधेयक पारित गरेको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो।
विधेयक पारित गर्न एमाले र कांग्रेसले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेका थिए। त्यही कारण दुई दलका अधिकांश सांसद बैठकमा उपस्थित भएका थिए।
बैठकमा प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद थिएनन्। ती दुई दलका सांसद बैठक बहिष्कार गरेर सुरुमै संसद् भवनबाट बाहिरिएका थिए।
बैठकले विनियोजन विधेयक पारित गर्नुअघि विभिन्न दलका र स्वतन्त्र गरी २३ जना सांसदले राखेको खर्च कटौतीको प्रस्ताव अस्वीकृत गरेको थियो।
बैठकले डा अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमनलाल मोदी, जनार्दन शर्मा, विमला सुवेदी, रेखा शर्मा, चित्रबहादुर केसी, शक्ति बस्नेत, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराइली, ज्ञानु बस्नेत, उर्मिला माझी, हितबहादुर तामाङ, अम्मरबहादुर थापा, छिरिङ ल्हामु लामा, नारायणी शर्मा, गंगा कार्की र लेखनाथ दाहालले राखेको खर्च कटौतीको प्रस्ताव बैठकले बहुमतले अस्वीकृत गरेको हो।