सेबोनले इन्भेष्टमेन्ट कम्पनीका लागि बढायो लगानीको दायरा, थपिएका क्षेत्र कुन-कुन?

बिजमाण्डू
२०८२ असार ८ गते १९:२४ | Jun 22, 2025
सेबोनले इन्भेष्टमेन्ट कम्पनीका लागि बढायो लगानीको दायरा, थपिएका क्षेत्र कुन-कुन?

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले इन्भेष्टमेन्ट कम्पनीका लागि लगानीको दायरा बढाएको छ।

Tata
GBIME

सेबोनले नेप्सेमा सूचीकृत तथा आइपीओ निष्कासन गर्ने इन्भेष्टमेन्ट क्षेत्रका कम्पनीका लागि लगानी गर्न पाउने क्षेत्र थप गरेको हो। नेप्सेमा अहिले इन्भेष्टमेन्ट क्षेत्रका ७ वटा कम्पनी सूचीकृत छन्।

इन्भेष्टमेन्ट कम्पनीले अहिले उर्जा, यातायात र सञ्चारमा लगानी गर्दै आएकामा सेबोनले अब कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खननसँग सम्बन्धित संगठित संस्थाको संस्थापक सेयरमा समेत लगानी खुला गरेको हो।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत इन्भेष्टमेन्ट कम्पनीहरुका लागि लगानीको दायरा बढाउने घोषणा गरेको छ। इन्भेष्टमेन्ट कम्पनीहरुलाई राज्यको प्राथमिकताप्राप्त क्षेत्रमा लगानी गराउनका लागि नयाँ क्षेत्र थप गरिएको सेबोनका सहप्रवक्ता तोलाकान्त न्यौपानेले बताए।

‘राज्यले पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने बताइरहेको छ। इन्भेष्टमेन्ट कम्पनीहरुको लगानी यस क्षेत्रमा परिचालन गर्नका लागि दायरा बढाइएको हो,’ उनले भने।

इन्भेष्टमेन्ट क्षेत्रका कम्पनीलाई आइपीओ निष्कासनको व्यवस्थामा हेरफेर गरिएको छ।

आइपीओ निष्कासन गर्न चाहने इन्भेष्टमेन्ट कम्पनीको प्रति सेयर नेटवर्थ अंकित मूल्यभन्दा बढी हुनुपर्छ। कम्पनी कम्तिमा तीन वर्ष संचालनमा रही पछिल्लो दुई आर्थिक वर्षमा मुनाफा गरेको हुनुपर्ने व्यवस्था छ।

आइपीओ निष्कासन गर्न कम्पनीले न्यूनतमभन्दा कम्तिमा एक स्तरमाथिको क्रेडिट रेटिङ्गको ग्रेड प्राप्त गरेको हुनुपर्ने, चुक्ता पुँजी कम्तिमा ५० करोड हुनुपर्ने व्यवस्था छ।

नेपाल सरकार संस्थापक भई स्थापना भएको संगठित संस्था वा ऊर्जा, यातायात, संचार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खनन क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित स्थापना भएको संगठित संस्था लगानी कम्पनी हुनुपर्ने व्यवस्था गरिएको छ।

यस्तै, वैदेशिक लगानीमा स्थापना भएका संगिठत संस्थाले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी ऐनको प्रक्रिया पूरा गरेको हुनुपर्छ।