
काठमाडौं। सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ। नेप्से परिसूचक आइतबार ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा आएको छ। गत साताको अन्तिम कारोबार दिनका तुलनामा कारोबार रकम पनि घटेको छ।
कारोबारमा आएका सबै समूहको सूचक ओह्रालो लाग्दा बजार घटेको हो। होटल तथा पर्यटनको सूचक सबैभन्दा धेरै ३.१३ प्रतिशतले ओरालो लागेको छ। २२५ कम्पनीको सेयरमूल्य घट्दा लगानीकर्ताले गुमाएका छन्। पियोर इनर्जीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।
२३ कम्पनीको सेयर मूल्य बढेको छ। जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। बजारमा ९ अर्ब १४ करोड ५८ लाख रुपैयाँको सेयर किनबेच हुँदा दोर्दी खोला जलविद्युतको सर्वाधिक ७५ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
यस्तै, बुटवल पावर कम्पनी ७४ करोड ५८ लाख, राधी विद्युत कम्पनी ४९ करोड ७२ लाख र सानिमा माई हाइड्रो पावर ४६ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
यसअघि गत बिहीबार सेयर बजार परिसूचकमा लगातार तेस्रो दिन गिरावटका बाबजुद कारोबार रकममा सुधार देखिएको थियो। नेप्से २४.७६ अंकले घटेर २६२८.९१ विन्दुमा रहँदा ११ अर्ब २३ करोड १४ लाख रुपैयाँको सेयर किनबेच भएको थियो।