
काठमाडौं। नेपाली यू-१६ क्रिकेट टोलीले सिंगापुरलाई ६ विकेटले हराएको छ। एसीसी यू-१६ इस्ट जोन कप खेल्न मलेसिया पुगेको नेपाली टोलीले आफ्नो पहिलो खेलमै सिंगापुरमाथि प्रभावशाली जित निकालेको हो।
मलेसियाको वाइएसडी ओभलमा टस जितेर ब्याटिङमा उत्रिएको सिंगापुरले ३६.१ ओभरमा अलआउट हुँदै १३८ रन बनाएको थियो।
सिंगापुरका लागि कप्तान रियान नाइकले अर्धशतकीय इनिङ्स खेल्दै सर्वाधिक ५३ रन बनाउँदा आहन बुथन्डमले ३८ रन बनाए। त्यस्तै, रोहन अस्टिनले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्।
बलिङतर्फ नेपालका कप्तान विपिन शर्माले सर्वाधिक ४ विकेट लिँदा सचिन भट्टले ३ तथा अभय यादव र शुभम खनालले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो। नेपालका लागि प्रसिद्ध जैशीले अविजित रहँदै सर्वाधिक ५५ रन बनाउँदा रौनक श्रीवास्तवले ४० रनको महत्त्वपूर्ण योगदान दिए। सिंगापुरका आकाश तेजाले ३ तथा युवान पाण्डेले १ विकेट लिए पनि नेपाललाई रोक्न सकेनन्।
नेपाल जारी प्रतियोगितामा समूह ‘ए’मा छ। यो समूहमा नेपालसहित सिंगापुर, भुटान, इन्डोनेसिया र जापान छन्। नेपालले अर्को खेलमा मंगलबार जापानसँग खेल्नेछ।