दाउन्ने खण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्ग प्रयोगको आग्रह, ‘होङसी हुँदै आउजाउ गर्न सकिन्छ’

बिजमाण्डू
२०८२ असार ७ गते १०:१४ | Jun 21, 2025
दाउन्ने खण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्ग प्रयोगको आग्रह, ‘होङसी हुँदै आउजाउ गर्न सकिन्छ’

काठमाडौं। नवलपरासीको दाउन्ने सडकखण्डमा देखिएको समस्याका कारण यातायात सञ्चालनमा कठिनाइ उत्पन्न भएपछि वैकल्पिक मार्ग प्रयोग गर्न सम्बन्धित निकायले आग्रह गरेको छ। सडक मर्मत तथा अन्य प्राविधिक कारणले ठूला तथा साना सवारीसाधनको सहज आवतजावतमा असर परेकाले विभिन्न विकल्पहरु व्यवस्था गरिएको एसियाली विकास बैंक एडीबी आयोजना निर्देशनालयका प्रमुख चुडाराज ढकालले बताए।

Tata
GBIME

ठूला र भारी १२ चक्के वा सोभन्दा ठूला ट्रकहरु विशेषगरी वीरगंजबाट विदेशी सामान बोकेर आउने सवारीसाधनहरुलाई पोखरा हुँदै आफ्नो गन्तव्यतर्फ जान सुझाइएको उनले बताए। दाउन्नेको जोखिमपूर्ण बाटोमा भारी सवारीले थप समस्या निम्त्याउन सक्ने भएकाले यो मार्ग अपनाउन भनिएको उनको भनाइ छ।

ढकालका अनुसार साना तथा मझौला १२ चक्केभन्दा साना सवारीसाधन जस्तै सार्वजनिक बस, मिनीबस, कार तथा साना ट्रकहरुलाई दुम्कीबासबाट होङ्सी सिमेन्ट कारखाना जाने बाटो हुँदै आवतजावत गर्न सकिने व्यवस्था मिलाइएको छ। दिउँसोको समयका लागि अर्को विकल्प पनि व्यवस्था गरिएको ढकाल बताउँछन्।

दिउँसोको समयमा यात्रा गर्नेहरुका लागि रामदी पुल र रामपुर हुँदै गण्डकी निस्किने बाटो पनि एक विकल्पको रुपमा रहेको उनले बताए। तर, यो मार्ग प्रयोग गर्नुअघि बाटोको जामको अवस्थाबारे जानकारी लिनु आवश्यक छ।

ढकालका अनुसार दाउन्ने खण्डको मर्मत कार्य चाँडै नै सुरु हुनेछ। तर तत्कालको लागि यातायात व्यवस्थापन गर्न र यात्रुहरुलाई जोखिमबाट बचाउन यी वैकल्पिक मार्गहरु आवश्यक परेको हो। यससम्बन्धी औपचारिक सूचना छिट्टै प्रकाशन गरी सर्वसाधारणलाई जानकारी गराइने र यातायात अस्तव्यस्त हुन नदिन सबै पक्षसँग समन्वय भइरहेको पनि उनले बताएका छन्।

यसैबीच जिल्ला प्रशासन कार्यालय नवलपुरले दाउन्ने खण्डमा उक्त सडक खण्डमा ठूला र भारी मालवाहक सवारी चलाउन रोक लगाएको छ। निर्माणाधीन नारायणगढ-बुटवल सडकको दुम्कीबासस्थित विनयी खोला पुलको डाइभर्सन सडक वर्षाले बारम्बार बगाइरहेकाले नयाँ पुल सञ्चालनमा नआउन्जेल र दाउन्ने खण्डको केही स्थानहरुमा ग्राबेल राखेर सडक मर्मत गर्ने काम भइरहेकोले तयार नहुन्जेलसम्मका लागि शनिबारदेखि रोक लगाएको हो।

उक्त सडक खण्डमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी चलाउन पनि रोक लगाइएको छ।