नेदरल्याण्ड्समाथि नेपालको ६ विकेटको जित, भुर्तेलको अर्धशतक र आरिफको संयमित ब्याटिङ

बिजमाण्डू
२०८२ असार ५ गते २३:१९ | Jun 19, 2025
नेदरल्याण्ड्समाथि नेपालको ६ विकेटको जित, भुर्तेलको अर्धशतक र आरिफको संयमित ब्याटिङ
ब्याटिङमा कुशल भुर्तेल। तस्बिर: क्यान

काठमाडौं। नेपाली क्रिकेट टोलीले नेदरल्याण्ड्सलाई हराएको छ। स्कटल्याण्डको ग्लास्गोस्थित टिटवुड मैदानमा आज सम्पन्न त्रिदेशीय सिरिज अन्तर्गतको खेलमा नेपालले नेदरल्याण्ड्समाथि ६ विकेटको जित निकालेको हो।

Tata
GBIME

टस हारेर ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले दुई बल बाँकी छँदा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो।

१७५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउन कुशल भुर्तेलको अर्धशतक महत्वपूर्ण रह्यो। उनले सर्वाधिक ६५ रन बनाउँदा आरिफ शेखले संयमित ३९ रन बनाएर रिटायर हर्ट भए। त्यस्तै, भीम सार्कीले २७ रन बनाउँदा दीपेन्द्रसिंह ऐरी १६ र लोकेश बम १२ रनमा अविजित रहे।

बलिङतर्फ नेदरल्याण्ड्सका बेन फ्लेचर, आर्यन दत्त र रुोएलोफ भान डेरले समान १ विकेट लिए।

त्यसअघि ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले ७ विकेट गुमाएर १७४ रन बनाएको थियो।

नेदरल्याण्ड्सको स्कोर माथि लैजान ओपनर माइकल लेभिटको महत्वपूर्ण भूमिका रह्यो। उनले ५३ बलमा ६ चौका र ५ छक्काको सहायतामा ८६ रन बनाए। त्यस्तै, रोइलोफ भान डेरले २१ बलमा अविजित ३६ रनको योगदान दिँदा आर्यन दत्त १७ रनमा अविजित रहे।

बलिङमा नेपालका करण केसीले २ विकेट लिँदा ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह र सन्दीप लामिछानेले समान १ विकेट लिए।

जितसँगै त्रिदेशीय सिरिजमा नेपाल शीर्षस्थानमा उक्लिएको छ। नेपालले पहिलो खेलमा नेदरल्याण्ड्ससँग सुपर ओभरमा पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्याण्डलाई हराएको थियो। त्यस्तै, पहिलो खेलमा स्कटल्याण्डसँग हार ब्यहोरेको नेदरल्याण्ड्सले दोस्रो खेलमा नेपाल र तेस्रो खेलमा स्कटल्याण्डलाई हराएको थियो। नेपाल र नेदरल्याण्ड्सको सामान ४ अंक छ। २ अंक बनाएको स्कटल्याण्ड तालिकाको पुछारमा छ। नेपालले अब शुक्रबार स्कटल्याण्डसँग सिरिजको अन्तिम खेल खेल्दैछ।