एमआरपी कार्यान्वयन रोक्न चेम्बरको दौड, उद्योगमन्त्रीसँग भेट, ‘व्यावसायिक वातावरण बिग्रियो’

बिजमाण्डू
२०८२ असार ४ गते १६:५६ | Jun 18, 2025
एमआरपी कार्यान्वयन रोक्न चेम्बरको दौड, उद्योगमन्त्रीसँग भेट, ‘व्यावसायिक वातावरण बिग्रियो’

काठमाडौं। अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) कार्यान्वयन रोक्न नेपाल चेम्बर अफ कमर्सले दौडधुप बढाएको छ। चेम्बरले एमआरपी कार्यान्वयनले औद्योगिक वातावरण झनै बिग्रने भन्दै रोक्नका लागि दौडधुप बढाएको हो।

Tata
GBIME

चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपक श्रेष्ठ र निलकण्ठ चौलागाइँले बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेटेका छन्।

उद्योग मन्त्रालय मातहतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एमआरपी कार्यान्वयन नगरेको भन्दै व्यवसायीहरुमाथि कारबाही गर्ने क्रम बढाएपछि चेम्बरको टोलीले मन्त्री भण्डारीलाई भेटेको हो।

मन्त्रीसामु अध्यक्ष अग्रवालले औद्योगिक र व्यापारिक अवस्था सुधार हुन नसकेको अवस्थामा सरकारको एकतर्फी निर्णयले व्यावसायिक वातावरण थप बिग्रने बताएको चेम्बरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

अग्रवालले स्वदेशी तथा आयातित सम्पूर्ण वस्तुहरुमा खुद्रा विक्री मूल्य (एमआरपी)सहितको लेवल राख्नका लागि गरेको सूचना एवं विभागले हाल गरिरहेको बजार अनुगमन र अनावश्यक कारबाहीले शिथिल भइरहेको औद्योगिक वातावरण झनै बिग्रने बताए।

‘वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हाल चालिरहेको कदमले उद्योगी, व्यवसायीहरु मर्कामा परेका छन,’ अग्रवाललाई उद्यृत गर्दै चेम्बरले भनेको छ, ‘सरोकारवालासँग सर्वपक्षीय छलफल र सहमतिका आधारमा मात्रै एमआरपी कार्यन्वयनमा लैजानुपर्छ।’