
काठमाडौं। ‘वैदेशिक रोजगारीमा बेलायत र लिथुआनिया पठाइदिन्छु’ भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने धनुषाको जनकपुरधाम उपमहानगरपालिका-४ घर भएकी २६ वर्षीया सुजनी कुमारी साह, काठमाडौं महानगरपालिका-३ बस्ने सुनसरीको धरान उपमहानगरपालिका-३ घर भएका ३४ वर्षीय दीपक कुमार उदास र भक्तपुरको चाँगुनारायण नगरपालिका-१ बस्ने २३ वर्षीया रेशिका हमाल न्यौपाने रहेका छन्।
पक्राउ पर्नेमध्ये बेलायत पठाइदिन्छु भन्दै सुजनीले १ जनासँग १७ लाख ४ हजार रूपैयाँ र दीपकले १ जनाबाट २ लाख ३४ हजार रूपैयाँ लिएका थिए। त्यस्तै, रेशिकाले लिथुआनिया पठाइदिन्छु भन्दै २ जनाबाट ६ लाख ८ हजार रूपैयाँ लिइ सम्पर्कविहीन भएको प्रहरीमा उजुरी परेको थियो।
सोही उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुजनी र रेशिकालाई काठमाडौं महानगरपालिका-३२ बाट तथा दीपकलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयले जनाएको छ।