बजेटबारे गठबन्धन विभाजित : अर्थमन्त्रीमाथि कांग्रेस सांसदको आक्रोश, ‘मन्त्री पद पेवा पाए जस्तो’

प्रकाश भण्डारी
२०८२ असार ३ गते ०९:४१ | Jun 17, 2025
बजेटबारे गठबन्धन विभाजित : अर्थमन्त्रीमाथि कांग्रेस सांसदको आक्रोश, ‘मन्त्री पद पेवा पाए जस्तो’

काठमाडौं। बजेटका विषयमा सत्तारुढ दल कांग्रेस र एमाले विभाजित देखिएका छन्। एमालेका तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटमाथि अर्को सत्तारुढ दल कांग्रेसले असन्तुष्टि व्यक्त गरेको हो।

Tata
GBIME

अर्थमन्त्री पौडैलले ल्याएको बजेटप्रति कांग्रेस सांसदले चित्त बुझाएका छैनन्। प्रतिनिधि सभाको सोमबारको बजेटमाथिको छलफलमा कांग्रेस सांसदहरुले पौडेलको भूमिकामाथि नै प्रश्न उठाए।

कांग्रेस सांसद रामहरी खतिवडाले पौडेलले एमालेका मन्त्रीको निर्वाचन क्षेत्रमा मात्रै बजेट पारेको भन्दै सच्याउन आग्रह गरे। ‘मन्त्री पद पेवा पाए जस्तो। आफ्नो निर्वाचन क्षेत्र छोडेर अन्त जानु नपर्ने जस्तो देख्दा पनि हामीलाई खुसी नै लागेको छ। मन्त्री हुनेका लागि यो सौभाग्य होला। अरु माननीय छन् भन्ने पनि ध्यान रहोस्,’ उनले भने।

कांग्रेस सांसदले बजेट अन्यायपूर्ण भनेका छन्। एमाले बचाउमा उत्रिएको छ। एमालेका सांसदहरुले भने बजेट यथार्थको धरातलमा आएको भन्दै पौडेलको प्रशंसा गरेका हुन्। कांग्रेसका सांसद्ले आफ्नो पार्टीका मन्त्रीका क्षेत्रमा बजेट खन्याइएकोदेखि आर्थिक संकटलाई अनदेखा गरिएको आरोप लगाए। टुक्रे योजनामा बजेट हालेको, आर्थिक अनुशासनका लागि फिटिक्कै काम नगरेको पौडेलमाथि कांग्रेस सांसदको आरोप छ।

रामहरि खतिवडा

संघीय सरकारको बजेटमा तीन करोड मुनिका आयोजना पनि राखिएको भन्दै पौडेलले आफ्नै प्रतिबद्धता पनि बिर्सिएको कांग्रेसले पौडेललाई सच्चिनुपर्ने बताएको छ। ‘१० हजारको, एक हजारको टुक्रे योजना पनि यसपटकको बजेटमा समावेश गरिएको छ। म सच्याउन ध्यानकर्षण गर्छु,’ कांग्रेस सांसद रामकृष्ण यादवले भने। 

विपद्ले पुर्‍याएको क्षतिको पुनःनिर्माण अन्तर्गतको बजेट पनि पौडेलले काटेको कांग्रेसको आरोप छ। कांग्रेसका अर्का सांसद उदयशमशेर राणाले प्रधानमन्त्रीको अध्यक्षतामा रहेको परिषद्ले पास गरेको बजेट पनि अरु क्षेत्रमा राखेर पौडेलले अन्याय गरेको टिप्पणी गरे। ‘कतै रिफलेक्ट भएको छैन। यो पैसा कहाँ हरायो? पीडितका लागि जुटाइएको पैसा अन्त लिन मिल्दैन,’ उनले भने।

उदय शमशेर राणा

बजेटमार्फत आर्थिक संकटलाई समाधान गर्ने अवसर भए पनि पौडेलले टालटुले बजेट ल्याएको कांग्रेस सांसदहरुले बताए। ‘आर्थिक संकटको दुश्चक्रबाट मुलुकलाई बाहिर निकाल्ने अवसर थियो। तर समस्या थाती राखेर टालटुले बजेट ल्याएको देखिन्छ,’ कांग्रेस सांसद नागिना यादवले भनिन्।

वृद्ध भत्ता ६८ वर्षबाट ७० पुर्‍याइएकोमा आक्रोश व्यक्त गरेकी उनले बजेट छिटो प्रतिफल दिने भन्दा पनि प्रतिफलको टुंगो नै नभएको ठाउँमा किन खन्याइएको भन्दै पौडेललाई प्रश्न गरिन्। 

नागिना यादव

बजेटको विषयलाई लिएर सत्तारुढ दलहरुमा कतिसम्म विभाजन देखिएको छ भने एमाले जसरी पनि राम्रो भन्दै बचाउमा उत्रिएको छ भने कांग्रेस प्रतिपक्षी दलले झैं पौडेलमाथि नै खनिएको छ।

एमालेका सांसद पदम गिरीले लोकप्रियताका लागि पौडेलले बजेट ल्याएको नभइ वास्तविकतामा टेकेर ल्याएको भन्दै प्रशंसा गरे। ‘यथार्थ धरातलमा टेकेर बजेट ल्याउनु भयो त्यसका लागि म धन्यवाद दिन चाहन्छु। पुँजीपतितर्फ बजेट ढल्किएको भन्ने प्रतिपक्षको सांसदको कुरा सुनेँ, यो नितान्त पूर्वाग्रहपूर्ण भनाइ हो,’ उनले भने। देशमा अब कृषि क्षेत्रमा उत्पादनको शृंखला नै अघि बढ्ने भन्दै उनले पौडेलको बचाउ गरे।

पदम गिरी

एमालेका अर्का सांसद प्रभु हजाराले पनि पौडेलको बचाउको पक्षमा उभिए। उनले सरकारले अधुरा योजना समापन गर्नगरी बजेट ल्याएको टिप्पणी गरे। ‘यो बजेट राम्रो र पारदर्शी खालको छ। भद्दा योजनाहरु कटौती गरिएको छ, बिगत वर्षमा अधुरा योजना पुरा गर्न बजेट ल्याइएको छ,’ उनले भने।

प्रभु हजारा

एमाले सांसदहरुले बजेटमाथि सस्तो र परम्परावादी टिकाटिप्पणी गरेको भन्दै आलोचना गर्नेहरुमाथि नै प्रश्न उठाए। पौडेलको बचाउमा एमाले सांसदहरुले बजेटका विभिन्न राम्रा पक्षहरुमा मात्रै जोड दिएका हुन्। ‘अर्थपूर्ण प्रतिफल आउनेखालको बजेट छ। अहिले बजारमा बजेटबारे सस्तो टीकाटिप्पणी छ,’ एमालेकी अर्की सांसद भगवती चौधरीले भनिन्।

भगवती चौधरी

सांसद्ले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री पौडेलले अधुरा योजना सम्पन्न गर्नका लागि करोड मुनिका योजनामा पनि बजेट हाल्नु परेको भन्दै बचाउ गरे।

बजेटले आर्थिक अनुशासनलाई महत्त्व दिएको, निजी क्षेत्रमा विद्युत उत्पादन बढेर जाने, भूमि बैंकमार्फत बाँझो जमिन सदुपयोगको नीति लिइएको भन्दै पौडेलले आफ्नो बचाउ गरे। उनले कांग्रेसका सांसदहरुलाई विरोधका लागि मात्रै विरोधमा नउत्रिन आग्रह गरे।