
काठमाडौं। सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गतको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको ग्रान्ड फिनाले सोमबारदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुँदैछ। प्रतियोगिता जुन १६ देखि १९ सम्म ७२ होलमा खेलिने आयोजकले जनाएको छ। ३६ होलपछि कट लागू हुने नियम रहेको छ। कट बनाउने शीर्ष २१ प्रोफेसनल खेलाडीहरू (टाइ परेमासमेत) तथा त्यही स्कोर बनाउने एमेच्योर खेलाडीहरूले अन्तिम दुई राउन्डको लागि स्थान बनाउने छन्।
प्रतियोगितामा ३८ जना प्रोफेसनल खेलाडीहरूले भाग लिँदैछन्। यो इभेन्टको पुरस्कार राशी १६ लाख रुपैयाँ तोकिएको छ, जुन सिजनकै ठूलो हो।
इभेन्टको विजेताले ३ लाख रुपैयाँ जित्नेछन् भने दोस्रो स्थानमा आउनेले १ लाख ८५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। तेस्रो, चौथो र पाँचौं हुनेले क्रमशः १ लाख २५ हजार, १ लाख ५ हजार र ९२ हजार रुपैयाँ जित्नेछन्। शीर्ष २१ भित्र पर्ने सबैले पुरस्कार प्राप्त गर्नेछन्।
यस सिजनमा भने हालसम्म सबैभन्दा बढी रकम कमाउने खेलाडी निरज तामाङ हुन्। उनले ३ उपाधिसहित ७ लाख ४२ हजार ५ सय रुपैयाँ कमाइसकेका छन्।
दोस्रो स्थानमा तोरन शाही (४ लाख ९ हजार ५ सय) र तेस्रो स्थानमा भुवन नगरकोटी (३ लाख ६४ हजार ५ सय) छन्। यसमा अन्तिम इभेन्टको रकम पनि थपिएर आउनेछ।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) का अध्यक्ष रवीन्द्र मान श्रेष्ठले हालसम्मकै ठूलो पुरस्कार रकम भएको भन्दै खेलाडी उत्साहित रहेको बताए।
‘यो सिजनको अन्तिम प्रतियोगितामा हालसम्मकै ठूलो पुरस्कार राशी राखिएको छ। खेलाडीहरू उत्साहित छन् र सिजनलाई राम्रो ढंगले अन्त्य गर्न चाहन्छन्। सूर्य नेपाल प्रालिलाई निरन्तर समर्थन र नेपाली गल्फको विकासमा योगदान दिएकोमा धन्यवाद दिन चाहन्छु,’ उनले भने।
यस वर्ष कुल पुरस्कार राशी ६७ लाख रहेकोमा अन्तिम इभेन्टका लागि मात्रै १६ लाख रुपैयाँ रहेको एनपीजीएका महासचिव दीपक आचार्यले बताए।