
काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पपकर्नको आयात अस्वाभाविकरुपमा बढेको बताएका छन्। अघिल्लो वर्ष १ अर्बको पपकर्न आयात भएकोमा चालु आर्थिक वर्षमा बढेर ३ अर्ब ९४ करोडको आयत भएको छ।
पपकर्न नेपाल हुँदै तेस्रो मुलुक निर्यात हुन सक्ने भएकाले यसमा कडाइ गर्न मन्त्री अधिकारीले निर्देशन दिएका छन्। सिंहदरबारमा आयोजित बैठकमा मन्त्रालयका सचिव, महानिर्देशक, महाशाखा प्रमुख एवं मातहतका कार्यलयका प्रमुखहरूलाई मन्त्री अधिकारी उक्त निर्देशन दिएका हुन्।
आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि आवश्यक कार्यविधि चाडै तयार गर्न पनि उनले मन्त्रालयका कर्मचारीहरूलाई निर्देशन दिएका छन्।
बैठकमा मन्त्री अधिकारीले स्थानीय तहमा सशर्त संचालनमा रहेका कार्यक्रमहरूको अनुगमन र मूल्याङ्कन गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिए। पालिकाहरूमा कृषितर्फ गएको रकम ठिक ढंगले खर्च भएको छ/छैन, त्यसको प्रतिफल कस्तो र कुन अवस्थाको छ, कार्यान्वयनका लागि भएका जटिलताहरूको जानकारी लिन आवश्यक रहेको उनले बताए।
मन्त्री अधिकारीले सबै पालिकाहरूमा सम्भव नभए पनि प्रतिनिधिमुलक रुपमा पालिका छनौट गरेर सहसचिवको नेतृत्वमा अनुगमन तथा मूल्याङ्कनको व्यवस्था मिलाउन आवश्यक रहेको बताए। तल्लो तहसम्म मन्त्रालय र मातहतका निकायहरूको सेवा सरल र सहजरुपमा पुग्न आवश्यक रहेकोमा जोड दिँदै मन्त्री अधिकारीले यसका लागि मन्त्रालयका संयन्त्रहरूको प्रभावकारी परिचालनको आवश्यकता रहेको औँल्याए।
हाल चैते धान न्यूनतम समर्थन मूल्यभन्दा ज्यादै कममा बिक्री गर्नुपरेको किसानहरूको गुनासो आएकाले यसलाई सम्बोधन गर्न सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक व्यवस्था गर्न पनि मन्त्री अधिकारीले निर्देशन दिएका छन्।
गाई भैँसीमा लाग्ने लम्की स्किन तथा अफ्रिकन स्वाइन फिभर नियन्त्रणका लागि हाल भइरहेका प्रयास, दुग्ध किसानलाई दूधको रकम भुक्तानीका लागि भएका प्रयास र हालको अवस्था, रासायनिक मल आयात र वितरणको अवस्थाका बारेमा बैठकमा मन्त्री अधिकारीले जानकारी लिएका थिए।
त्यस्तै, मन्त्री अधिकारीले प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रलाई फूल तथा फलफूलका विरुवाजन्य उत्पादनको आयात रोकी स्वदेशी उत्पादनलाई प्रोत्साहान एवं नर्सरीलाई प्रवर्धन गर्न निर्देशन दिए।