
काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्किन र अफ्रिकन स्वाईन फिभर देखिएको स्थानमा अध्ययन गर्न टोली परिचालन गरेको छ।
केही स्थानमा पशु चौपायहरुमा लम्पी स्किन र अफ्रिकन स्वाईन फिभर देखापरेको खबर आएपछि मन्त्रालयले टोली परिचालन गरेको हो।
रोगको वस्तुगत अवस्था अध्ययन गरि तत्काल नियन्त्रणका लागि प्रभावकारी उपाय पहिचान गर्न पनि मन्त्रालयले मातहतका निकायहरुलाई परिचालन गरेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा आज बसेको बैठकले पशु सेवा विभाग अन्तर्गतका वरिष्ठ पशु चिकित्सकको नेतृत्वमा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, प्रदेश मन्त्रालय अन्तर्गतका सम्बन्धित अधिकृत र स्थानीय तह समेतको सहभागितामा टोली गठन गरेको हो।
टोलीलाई तत्कालै रोग देखा परेका क्षेत्रमा परिचालन गर्ने निर्णय बैठकले गरेको छ।
यस्तै, बैठकले वर्षायामको सुरुवातसँगै बढ्ने लामखुट्टे लगायतका किराहरुवाट सर्ने रोगहरुको जोखिमलाई आकलन गरी रोग नियन्त्रण र खोप कार्यका लागि आवश्यक पर्ने खोप लगायतका सेवा तयार गर्न पनि मातहतको निकायलाई निर्देशन दिएको छ।