
काठमाडौं। सरकारले आयातित हेल्मेटमा भन्सार महसुल ५ प्रतिशत बढाएपछि स्वदेशी उद्योग आफ्ना उत्पादनको बजार बढ्नेमा आशावादी भएका छन्।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक विधेयकमार्फत आयातित हेल्मेटमा भन्सार महसुल २० प्रतिशत पुर्याइदिएपछि स्वदेशमा हेल्मेट उत्पादन गर्दै आएका व्यवसायीहरु आशावादी भएका हुन्।
आयातित हेल्मेटमा भन्सार महसुल वृद्धिले स्वदेशमा उत्पादन गर्ने उद्योगले केही राहत अनुभव गरेका छन्। कोहिनुर प्लास्टिक इन्ड्रस्ट्रिज (केपीआई) हेल्मेटका प्रबन्ध निर्देशक सुमन बस्यालले आर्थिक विधेयकमा गरिएको व्यवस्थालाई आफूहरुलाई सकारात्मकरुपमा लिएको बताए।
‘अब केही हदसम्म स्वदेशी उत्पादनको बजार बढाउन सहयोग पुग्छ। आयातित उत्पादनसँग प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने कन्फिडेन्ट आउँछ। तर, यतिले मात्र पुग्दैन,’ उनले भने।
नेपाली बजारमा दुईवटा कम्पनीले हेल्मेट उत्पादन गर्दै आएका छन्।
बस्यालको कम्पनीले मासिक ७० हजार युनिटभन्दा धेरै हेल्मेट उत्पादन गर्दै आएको छ। अहिले नेपाली बजारमा दैनिक औसतमा २५०० युनिट हेल्मेट बिक्री हुने गरेको छ।

देशभित्र हेल्मेट उत्पादन गर्दै आएको यती हेल्मेटको माउ कम्पनी मयूर स्टील इन्डष्ट्रिजका प्रबन्ध निर्देशक महेश थैब पनि आयातित हेल्मेटमा भन्सार वृद्धिले स्वदेशी उत्पादनको बजार बढाउन सहयोग पुग्ने बताउँछन्।
‘हामीले धेरै पहिलेदेखि आयातित हेल्मेटको भन्सार दर कम हुँदा प्रतिस्पर्धा गर्न गाह्रो भएको बताउँदै आएका थियौं। सरकारले यो पटक केही हदसम्म त्यसलाई सम्बोधन गरेको छ,’ उनले भने, ‘तर यतिले मात्रै पुग्दैन किनभने हामीले ल्याउने कतिपय कच्चा पदार्थमा भन्सार महसुल ३५ प्रतिशतसम्म छ। आयातित हेल्मेटमा अन्त:शुल्क लाग्दैन। कच्चा पदार्थमा लाग्छ। सरकारले यतातर्फ पनि ध्यान दिनुपर्छ।’

हेल्मेटको बजार लगभग डेढ अर्ब रुपैयाँको छ। बजारमा अहिले वार्षिक १० लाखभन्दा धेरै हेल्मेट आयात हुने गरेको छ।
हेल्मेट्स नेपालका म्यानेजर कर्ण श्रेष्ठले भन्सार महसुल ५ प्रतिशत बढेका कारण आयात हुने हेल्मेटको मूल्य ७ प्रतिशतसम्म बढ्ने बताए। उनका अनुसार आयातित हेल्मेटको मूल्य गुणस्तरअनुसार ४ हजार रुपैयाँसम्म बढ्नेछ।
पछिल्ला केही वर्ष मोटरसाइकल र स्कुटरको बिक्रीमा आएको गिरावटको असर हेल्मेटमा पनि परेकामा चालु आवमा दुई पाङ्ग्रेको आयात ७० प्रतिशतसम्मले बढ्दा हेल्मेटको व्यापार बढ्दै गएको व्यवसायीहरु बताउँछन्।
दुई पाङ्ग्रे सवारी बिक्रेताहरुले पनि बाइक खरिद गर्ने ग्राहकलाई हेल्मेट दिएर पठाउने चलन छ। हेल्मेटको बिजनेस बाइक र स्कुटरको बिक्रीमा निर्भर हुने गर्छ।