
काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोली हङकङसँग बराबरीमा रोकिएको छ। हङकङ स्टेडियममा आज सम्पन्न खेलमा नेपाली टोली फीफा वरीयतामा २२ स्थानमाथि रहेको घरेलु टोलीसँग गोलरहित बराबरीमा रोकिएको हो।
अघिल्लो हप्तामात्र प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडसँग खेलेको हङकङले नेपाललाई खेल अवधि भर दवाबमा राखे पनि गोल भने गर्न सकेन। दोस्रो हाफको इन्ज्युरी समयमा मिडफिल्डर मणीकुमार लामा दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिँदा नेपाल १० खेलाडीमा समेटिएको थियो।
यी दुवै टोली एएफसी एसिया कप २०२७ को तेस्रो चरणको छनोटको तयारीमा छन्। नेपाल छनोटमा समूह ‘एफ’मा भियतनाम, मलेसिया र लाओससँग छ।
पहिलो खेलमा मलेसियासँग पराजित भएको नेपाल दोस्रो खेलमा जेठ २७ गते लाओससँग भिड्दैछ। अर्कोतर्फ हङकङ समूह ‘सी’मा भारत, बंगलादेश र सिंगापुरसँग छ। २७ गते नै हङकङले भारतसँग प्रतिस्पर्धा गर्नेछ।
हङकङले जेठ १६ गते प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गरेको थियो। यो खेलमा युनाइटेडले ३-१ गोलअन्तरले जित निकालेको थियो।