देश दौडाहामा निस्किए गभर्नर पौडेल, समस्याको मूलमा पुगेर मौद्रिक नीति ल्याउने



सुदर्शन सापकोटा
२०८२ जेठ २२ गते १५:१० | Jun 5, 2025
देश दौडाहामा निस्किए गभर्नर पौडेल, समस्याको मूलमा पुगेर मौद्रिक नीति ल्याउने

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल आफ्ना दुई विभागीय प्रमुखलाई साथै लिएर देश दौडाहामा निस्किएका छन्। गभर्नरको हैसियतमा यो उनको पहिलो महत्वपूर्ण यात्रा हो, त्योभन्दा बढी उनको पुरानो बानीको निरन्तरता हो।

Tata
GBIME
Nepal Life

सिंहदरबार र बालुवाटारका चारघेरामा बसेर बनाइएका योजनामा पौडेललाई खासै विश्वास छैन। योजना आयोगको उपाध्यक्ष हुँदा पनि उनी जिल्ला जिल्ला घुमेर मानिसहरूसँग कुरा गर्थे। 

‘सर्वसाधारणलाई नभेटी, स्टेकहोल्डरसँग कुराकानी नगरी बनाइएको योजनाले नतिजा दिन्छ जस्तो मलाई लाग्दैन,’ गभर्नर नियुक्त हुने पक्का भएपछि उनले बिजमाण्डूसँग भनेका थिए।

संयोगले केन्द्रीय बैंकको सर्वोच्च पदमा पुगेका पौडेल अहिले मौद्रिक नीति बनाउनु पर्ने चटारोमा छन्। त्यसअघि उनले जान्नु पर्ने छ- वित्तीय क्षेत्रको ऋण तिर्न साना उद्यमी तथा सर्वसाधारण किन असफल भए? ब्याजदर घट्दा पनि किन ऋण लिन कोही इच्छुक देखिँदैन? गाउँघर, राजमार्ग, छेउछाउतिरका व्यवसाय किन असफल भइरहेका छन्? किन मान्छेहरु आफूलाई निरास र लाचार ठानिरहेका छन्? 

गभर्नर पौडेलले ऋण तिर्न नसकेका साना उद्यमी, कृषकलगायतको फाइल बोकेर पोखराबाट देश दौडा थालेका छन्। उनीसँग बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेल र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावल छन्।

‘गभर्नरसाबले साना-साना कर्जाहरुमा किन समस्या आएको हो? किन व्यवसायहरु असफल भए भनेर आफैंले हेर्न खोज्नु भएको छ,’ गभर्नरसँगै रहेका कार्यकारी निर्देशक गुरु पौडेलले बिजमाण्डूसँग भने, ‘यसबाट मौद्रिक नीति तर्जुमा गर्न मार्गदर्शन पनि हुन्छ भन्ने ठान्नु भएको होला।’

काठमाडौंबाट पोखरा ‘ल्यान्ड’ भएलगत्तै गभर्नरले छलफल सुरु गरिसकेका छन्। उनको टोली बागलुङ, बुर्तीवाङ, रुकुम, जाजरकोट, दैलेख हुँदै धनगढी झर्ने छ। २६ गते गभर्नर ऋणीहरुसँग छलफल सकेर काठमाडौं फर्किने छन्। 

साउन पहिलो साताभित्र मौद्रिक नीति जारी गर्नुपर्ने दबाबमा रहेका पौडेलको यो देश दौडाहा आफैंले नजिकबाट अर्थतन्त्र बुझ्ने खोजयात्रा भएको उनी निकटहरु बताउँछन्।

केही दिनअघि मात्रै संसदीय समितिमा दुईवटा विवादित विषयमा टिप्पणी गरेर वित्तीय तथा कर्पोरेट क्षेत्रमा ‘आगो झोसेका’ पौडेलको पहिलो मौद्रिक नीतिमाथि सबैको चासो बढेर गएको छ।

पहिलो त- लगानी सूचकहरु सबल भइकन पनि अर्थतन्त्र कठिन अवस्थामा छ। आर्थिक गतिविधि सुस्त छ। बैंकहरूको खराब ऋण बढिरहेको छ। नयाँ ऋण लगानीको माग घटेको छ। यस्तो समयमा ऋण प्रवाह बढाउन र उत्पादनमूलक क्षेत्रमा पैसा पुर्‍याउन गभर्नरले के गर्छन् भनेर चासोका साथ हेरिएको छ।

दोस्रो, संसदीय समितिमा उनले ऋणका सन्दर्भमा बोलेको कुरालाई महत्वका साथ हेरिएको छ। ‘अहिले करिब १९ लाख ४० हजार ऋणी छन्, जसमध्ये सीमित व्यक्तिले मात्र धेरै स्रोत प्रयोग गरेका छन्। सीमित व्यक्तिलाई मात्र धेरै ऋण जानु राम्रो हो वा होइन र त्यसरी प्रवाहित कर्जाले उत्पादनमा राम्रो गरेको छ वा छैन भन्ने चासोको विषय हो’ भन्दै गभर्नर पौडेलले वित्तीय स्रोतको केन्द्रीकरणको विरोध गरेका थिए।

बैंकर र व्यवसायी छुट्याउने डा. युवराज खतिवडाको पालादेखिकै एजेण्डालाई पौडेलले नियुक्तिको एक महिना नहुँदै बोलेकाले यसमा चासो बढेको हो। 

डा. पौडेलको पहिलो मौद्रिक नीतिले उनको पाँच वर्षे कार्यकालको दिशा निर्धारण गर्नेछ। यसमा उनलाई सरकारले ६ प्रतिशत आर्थिक वृद्धिका लागि चाहिने वित्तीय स्रोत परिचालन गर्नु पर्ने ‘टार्गेट’ दिएको छ।

उनलाई ‘कोर’ अर्थशास्त्री नमान्नेको जमात पनि ठूलो छ। कृषि तथा स्रोत विज्ञ र आर्थिक इतिहासका मात्र जानकार भनेर उनीमाथि टिप्पणी हुने गरेको छ। त्यसलाई उनले पहिलो मौद्रिक नीतिबाटै चिर्नु पर्नेछ।

‘फर्किएर आएपछि अझै धेरै छलफलहरु हुने छन्। त्यसपछि अर्थतन्त्रको आवश्यकता अनुसार गभर्नरबाट मौद्रिक नीति जारी हुनेछ,’ नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेलले भने।