
काठमाडौं । एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा ‘लिग अफ क्रिएटर्स’ अभियानको सुरुवात गरेको छ।
‘क्रिएट, कम्पिट, कन्कर’ भन्ने उत्साहजनक नारासहित सुरु भएको यस अभियान अन्तर्गत डिजिटल कन्टेन्ट क्रिएटर्स बन्न चाहनेहरुलाई ‘माइ नेटवर्क, माइ कनेक्टिभिटी’ भन्ने विषयवस्तुमा आधारित रही आफ्ना सामग्री प्रस्तुत गर्न प्लेटफर्म प्रदान गरिनेछ।
प्रतियोगितामार्फत सहभागीहरुले आफ्नो पहिचान बनाउने मौका पाउनेछन्। साथै, पुरस्कारका रुपमा एनसेलसँग १० लाख रुपैयाँबराबरको एक वर्षको ब्रान्ड डिल जित्ने मौका पाउनेछन्।
‘यो केवल प्रतियोगिता मात्र होइन, यो एक सिर्जनात्मक विकास यात्रा हो। जसमा मेन्टरशिप, कार्यशालाहरू, वास्तविक अनुभव लिदै सिक्ने मौका, चुनौतीपूर्ण चरणहरू र रोमाञ्चक पुरस्कारहरू रहेका छन्। यस अभियानमार्फत, हामी नयाँ पुस्ताका हाम्रा नेपाली डिजिटल सामग्री निर्माताहरूलाई सिक्ने, अघि बढ्ने र प्रभावशाली सामग्रीमार्फत परिवर्तन ल्याउन प्रेरणा दिदै सशक्त बनाउने प्लेटफर्म दिन चाहन्छौं,’ एनसेलका मार्केटिङ कम्युनिकेसन तथा सस्टेनेबिलिटी निर्देशक पुनम सिंहले भनिन्।
प्रतियोगिताका लागि शुक्रबार (जेठ १८) बाट दर्ता खुला गरिएको छ। यो प्रतियोगितामा पहिला अनुभव भएका वा नभएका सबै १६ वर्ष माथिका नेपाली डिजिटल सामग्री निर्माता अर्थात क्रिएटर्सले सहभागिता जनाउन सक्ने जनाइएको छ।
सहभागीहरुले आफ्नो नेटवर्क र कनेक्टिभिटीप्रतिको व्यक्तिगत वा भावनात्मक बुझाइ झल्किने ३० देखि ९० सेकेन्डको भर्टिकल भिडियो तयार गरि टिकटक र इन्स्टाग्राम दुवैमा पोष्ट गर्नु पर्नेछ। भिडियो पोष्ट गर्ने अन्तिम दिन जेठ २७ गते सम्म रहेको छ।
देशभरिबाट प्राप्त हुने भिडियोहरूबाट उत्कृष्ट ५० जना क्रिएटर्सलाई मेन्टरहरूले छान्नेछन्। त्यसपछि उनीहरुले विशेष प्रशिक्षण र मेन्टरशिप प्राप्त गर्नेछन्। यसरी छानिने ५० जना क्रिएटर्स ५ जना मेन्टरको नेतृत्वमा रहने समुहहरुमा विभाजन गरिनेछन् र प्रत्येक समुह एनसेल आइकनमा आयोजना हुने कार्यशालामा सहभागी हुनेछन्। यो अभियानमा च्यालेन्ज राउन्ड पनि समावेश रहेको छ जसमा सहभागिहरुले आफूलाई प्रदान गरिएको सिर्जनात्मक ब्रिफिङ बमोजिम सामग्री तयार पार्नु पर्ने हुन्छ र विज्ञ निर्णायकहरू त्यसको मूल्यांकन गर्नेछन्।
‘लिग अफ क्रिएटर्स’ को ग्रान्ड फिनाले असार १४ गते हुनेछ। मुख्य विजेताले एनसेलसँग १० लाख रुपैयाँ बराबरको एक वर्षका लागि ब्रान्ड डिल प्राप्त गर्नेछन्।
यस प्रतियोगितामा सहभागी हुन कुनै शुल्क नलाग्ने र सहभागीहरू अभियान अवधिभर नेपालमै हुनु आवश्यक रहेको एनसेलले जनाएको छ।