
काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार राष्ट्रिय प्रजातान्त्रिक पार्टीको आयोजनामा हुन लागेको विरोध कार्यक्रम रत्नपार्कमा गर्न नदिने तयारी गरेको छ।
बुधबार सुरक्षा निकायसँग आन्तरिक छलफलमा बसेको प्रशासनको टोलीले राप्रपाले बाहिर प्रचार गरे झैं रत्नपार्कमा दिंदा झडपको अवस्था आउने आकलन गरेको छ। तर औपचारिक निर्णय भने भइनसकेको सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले बताए।
‘रत्नपार्क दिंदा सुरक्षाको हिसाबले संवेदनशील देखियो। उहाँहरुलाई अरु नै ठाउँमा गर्न आग्रह गरिनेछ,’ उनले भने।
तर औपचारिक रुपमा राप्रपाले कार्यक्रम गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा जानकारी दिएको छैन। कुनै पनि विरोध तथा सभा गर्दा प्रशासनबाट अनुमति लिनुपर्ने हुन्छ। त्यस्तै सोही दिन एमालले पनि कार्यक्रम गर्दैछ। एमालेले भने भृकुटीमण्डपमा कार्यक्रम गर्नका लागि प्रशासनमा जानकारी दिएको छ।
बुधबार एक कार्यक्रमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले छाता लिएर कार्यक्रममा आउने समर्थकहरुलाई आग्रह गरेका छन्। त्यस्तै आफ्नो शान्तिपूर्ण प्रदर्शनमा एमालेले प्रतिकार गर्न खोजे हातमा दही जमाएर नबस्ने पनि बताएका छन्।
‘उनका कार्यकर्ता, मान्छेहरु काठमाडौं कब्जा गर्ने नाममा हाम्रो कार्यक्रम अवरोध सृजना गर्नेतर्फ अगाडि बढे भने त्यतिखेर प्रतिकारको जरुरी हुन्छ नै, त्यसबेला हामी भन्छौं। त्यस्तो बेला कसैले हातमा दही जमाए बस्दैन। हाम्रोतर्फबाट परिस्थितिलाई उत्तेजित बनाउने काम हुँदैन,’ अध्यक्ष लिङ्देनले भनेका छन्।
दुई फरक धारका पार्टीले कार्यक्रम गर्न लागेपछि सुरक्षा निकाय तनावमा देखिएका छन्। कार्यक्रम हिसात्मक बन्ने आशंकामा सुरक्षा निकायले सतर्कता बढाएको छ। बुधबार साँझ जिल्ला सुरक्षा समितिको बैठकले थप सुरक्षा रणनीति बनाएर लागु गर्ने तयारी गरेको छ।
सुरक्षा निकायले बिहीबारका कार्यक्रमलाई लक्ष्य गर्दै लागि प्रहरीलाई भीड व्यवस्थापनको विशेष प्रशिक्षण पनि दिइरहेको छ।