
काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले रातभर लगाएर आगामी आर्थिक वर्षको बजेटलाई अन्तिम रुप दिएका छन्। उनले बुधबार राति ११ बजेदेखि मन्त्रालयका सचिवहरुसँग लगातार छलफल गरी बिहीबार बिहान साढे ३ बजे बजेटलाई अन्तिम रुप दिएका हुन्।
अन्तिम रुप दिएपछि बजेट वक्तव्य र आर्थिक विधेयक प्रकाशनका लागि प्रेसमा पठाइएको थियो। राति ११ बजेपछि करका दरहरुलाई अन्तिम रुप दिइएको थियो। करका दरमा प्रवेश गर्नुअघि बजेटको अन्तिम छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी पनि सहभागी थिए।
करका दरलाई मन्त्री पौडेल, अर्थसचिव घनश्याम उपाध्याय, राजस्वसचिव दिनेशकुमार घिमिरे, भन्सार विभागका महानिर्देशक महेश भट्टराई, आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दहाल लगायतको टोलीले अन्तिम रुप दिएको हो।
बजेटलाई अन्तिम रुप दिएपछि आ आफ्नो निवास गएका मन्त्री र सचिवहरु बिहान ८ बजे पुन: मन्त्रालयमा उपस्थित भएका थिए। मन्त्री पौडेलले बजेट वक्तव्य दोहोर्याएर पढेका छन्।
स्रोतका अनुसार विद्युतीय सवारीसाधनमा करको दर किलोवाट अनुसार २२ प्रतिशतसम्म बढाइएको छ। यस्तै प्लगइन हाइब्रिड गाडीको बजार बढाउने नीति बजेटमा लिइएको छ।
प्लगइन र प्लगआउट हाइब्रिड गाडीमा हाल ८० प्रतिशत भन्सार र ८० प्रतिशत अन्त:शुल्क रहेकामा अर्थमन्त्री पौडेलले एउटा शीर्षकमा आधा घटाएको स्रोतले बतायो।

अर्थ मन्त्रालयले तयार पारेको बजेट केहीबेरमा मन्त्रिपरिषद् बैठकबाट अनुमोदन गरिंदैछ। मन्त्रिपरिषद् बैठक अपराह्न १:४५ बजे बोलाइएको छ।
त्यसअघि राष्ट्रिय योजना आयोगको स्रोत अनुमान समितिको बैठकले बजेटको अन्तिम सिलिङ पारित गर्दैछ। बैठक केहीबेरमा सुरु हुँदैछ। स्रोत अनुमान समितिले आगामी आवमा उठ्ने राजस्वको स्रोत देखाउँछ। त्यस्तै मध्यमकालीन खर्च संरचना पनि समितिले स्वीकृत गरेर मन्त्रिपरिषद्मा पठाउनेछ।
समितिले यसअघि १९ खर्ब ६५ अर्बको बजेट सिलिङ दिएको थियो।
मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि अर्थमन्त्रीले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन्। संघीय संसद्को संयुक्त बैठक अपराह्न ३ बजे बोलाइएको छ।