नक्कली नोट मुद्दामा कैद भुक्तान गरेर निस्किएका युनुस पुनः पक्राउ, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

बिजमाण्डू
२०८२ जेठ ११ गते १४:०२ | May 25, 2025
नक्कली नोट मुद्दामा कैद भुक्तान गरेर निस्किएका युनुस पुनः पक्राउ, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

काठमाडौं। नक्कली नोटमा जेल सजाय भुक्तान गरेर निस्किएका युनुस अन्सारी पुनः पक्राउ परेका छन्।

Tata
GBIME

सम्पत्ति शुद्धीकरण मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले उनलाई पक्राउ गरेको हो। उनीमाथि प्रहरीले आइतबार अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु भएको छ।

७ करोड ६७ लाख ९४ हजार रुपैयाँ नक्कली भारतीय नोटसहित प्रहरीले अन्सारीलाई पक्राउ गरेको थियो। २०७६ जेठ १० गते कतारको दोहाबाट क्यूआर ६४४ विमानमार्फत आएको नोट लिन विमानस्थल पुगेका अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

उनी २०६६ साल माघ १६ गते पहिलो पटक भारतीय नक्कली नोट र लागुऔषधसहित पक्राउ परेका थिए। उनी हाल तेस्रो पटक पक्राउ परेका हुन्।

नक्कली नोट कारोबारमा २०७० साल माघमा पक्राउ परेका अन्सारी अदालतबाट दोषी ठहर गरेपछि कैदमा थिए। अन्सारी २०७४ फागुन २ गते जेलमुक्त भएका थिए।

पूर्वमन्त्री सलिम मियाँ अन्सारीका छोरा युनुस पुरानै धन्दामा फेरि समातिएका थिए। टेलिभिजन संचालकको छवि बनाएका अन्सारी केही दशकदेखि भने भारतीय नक्कली नोट र लागुऔषध कारोबारीमा संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।