
काठमाडौं । चैत १५ गते तीनकुनेमा भएको राजावादी समूहको अराजक प्रदर्शनको अनुसन्धान सकेर प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। प्रहरीले दुई महिनापछि प्रतिवेदन आज बुझाएको हो।
शुक्रबार प्रहरीले १०८ जनालाई विभिन्न कसुरमा सजाय माग गर्दै राय प्रतिवेदन बुझाएको छ। केही फरार रहेका व्यक्तिलाई पनि प्रतिवादी बनाइएको छ।
जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरी शर्मा काफ्लेका अनुसार पाँचवटा कसुरमा मुद्दा लैजाने तयारी भएको छ।
प्रहरीले पनि कर्तव्य जान, ज्यान मार्ने उद्योग, संगठित अपराध, राजद्रोहको कसुर र अपराधिक उपद्रवमा मुद्दा लग्न सिफारिस गरेको छ। विभिन्न व्यक्तिलाई उनीहरुको भूमिका हेरेर विभिन्न कसुर माग गरिएको छ।
सरकारी वकिलले फाइल पाएसँगै मिसिल अध्ययन गर्न थालेको छ। शनिबार विदाको दिन भए पनि टोली बनाएर अध्यायन गरेर आइतबार जिल्ला अदालतमा अभियोगपत्र दायर गर्ने तयारी कार्यालयको छ।
‘शनिबार पनि काम हुन्छ। आइतबार दर्ता गर्ने प्रयास गर्छौं। प्रहरीले के के कसुरमा अदालतबाट म्याद थप गरेको थियो त्यसैमा टेकेर ल्याएको छ,’ शर्माले भने।
प्रहरीले बुझाएको प्रतिवेदन ५०० पेजको रहेको छ। आन्दोलनका कमान्डर भनिएका दुर्गा प्रसाईलाई पाँच वटै कसुरमा मुद्दा चलाउन प्रहरीले राय दिएको छ। प्रसाईं चैत १५ गतेदेखि भागेर भारत पुगेका थिए। चैत २९ गते उनलाई नेपाल प्रहरीले झापाबाट पक्राउ गरेको थियो। उनलाई भारतमा प्रहरीले फेला पारेको थियो। त्यस समयदेखि उनी हिरासतमा छन्।
त्यस्तै, राप्रपा दुई नेता रविन्द्र मिश्र र धवल सम्मशेर राणालाई पनि चैत १५ गते पक्राउ गरिएको थियो। यी दुई नेताहरु भने हाल हाजिरी जमानीमा छुटिसकेका छन्।