
काठमाडौं। कानुनी रूपमा नै प्रहरीले सम्पत्ति शुद्धीकरणका मुद्दामा अनुसन्धान गर्न पाउने भएपछि मुद्दा दर्ता र अनुसन्धान बढेको छ। त्यस्तै, नेपाल ग्रे लिस्टमा परेपछि झन् प्रहरीले यस्ता घटनाको अनुसन्धानमा चासो दिइरहेको छ।
गत चैतपछि प्रहरीले सम्पत्ति शुद्धीकरणका १० वटा मुद्दा सरकारी वकिल कार्यालयमार्फत अदालतमा दर्ता गराइसकेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी रमेश थापाले जानकारी दिए। जसमा ९१ जनालाई पक्राउ गरिएको थियो।
त्यस्तै, अहिले २३ वटा सम्पत्ति शुद्धीकरणका घटनाको अनुसन्धान भइरहेको उनले बताए।
‘यो सङ्ख्या बढ्ने देखिन्छ। अहिले सम्पत्ति शुद्धीकरण विभागबाट पनि अनुसन्धानको लागि फाइल आउने क्रम बढेको छ,’ एसएसपी थापाले भने।
प्रहरीले ७ वटा मुद्दा अदालतमा लैजाँदा ३ अर्ब ७८ करोड २० लाख ९८ हजार १६४ रुपैयाँ बिगो माग गरेको छ।