बीमा कम्पनीको बद्‍मासीमा प्राधिकरण निरीह, परिपक्व पोलिसीको रकमसमेत आफैं प्रयोग

बिजमाण्डू
२०८२ जेठ ८ गते १८:२४ | May 22, 2025
बीमा कम्पनीको बद्‍मासीमा प्राधिकरण निरीह, परिपक्व पोलिसीको रकमसमेत आफैं प्रयोग


काठमाडौं। नेपाल बीमा प्राधिकरणको नियमन कमजोर हँदा लाइफ इन्स्योरेन्सको मनोमानी बढ्दै गएको छ। बीमितको दाबी भुक्तानी गर्नुपर्ने रकम इन्स्योरेन्सले आफैं प्रयोग गरेको पाइएको छ।

Tata
GBIME

लाइफ इन्स्योरेन्सले पोलिसी परिपक्व हुँदा समेत बीमितको रकम भुक्तानी गरेका छैनन्। जीवन बीमा कम्पनीले परिपक्व भएका पोलिसीको भुक्तानी गर्नुपर्ने ३७ करोड ३७ लाख रुपैयाँ भुक्तानी रोकेर राखेका हुन।

प्राधिकरणको कमजोर नियमनको फाइदा उठाउँदै इन्स्योरेन्सले दाबी भुक्तानी गर्नुपर्ने रकम आफैं चलाएको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ।

परिपक्व भएको पोलिसी बाहेकको भुक्तानी गर्नुपर्ने रकम पनि कम्पनीहरुले दिएका छैनन्। कम्पनीहरुले परिपक्व पोलिसीसहित १ वर्षभन्दा बढी अवधिदेखि १ अर्ब १९ करोड ९४ लाख रुपैयाँ दाबी भुक्तानी नदिएका हुन्।

‘जीवन बीमा कम्पनीबाट पूर्ण परिपक्व दाबी, चुक्ता दाबी, समर्पण दाबी तथा मृत्यु दाबी अन्तर्गत १ वर्षभन्दा बढी समयदेखि भुक्तानी हुन बाँकी रकम १ अर्ब १९ करोड ९४ लाख १३ हजार रहेको छ,’ महालेखाले कैफियत ‌औंल्याउँदे आफ्नो वार्षिक प्रतिवेदनमा भनेको छ, ‘बीमालेख परिपक्व भइसकेको भुक्तानी हुन बाँकी ३७ करोड ३७ लाख ९ हजार जीवन बीमा कम्पनीले नै प्रयोग गर्दै आइरहेको देखिन्छ।’

महालेखाले कम्पनीले दाबी भुक्तानी नगर्नुको कारणबारे बीमा प्राधिकरणलाई अनुमगमन गर्न भनेको छ। ‘प्राधिकरणले भुक्तानी नहुनुको कारणबारे बीमकहरूसँग जानकारी लिने नगरेको साथै बीमा दाबी भुक्तानीमा ढिलाइ हुनुको कारण बीमित मात्र नभई बिमक जिम्मेवार हुने हुँदा सो सम्बन्धमा प्राधिकरणले अनुगमन गरी आवश्यक निर्देशन दिनुपर्छ,’ महालेखाले भनेको छ।