
काठमाडौं। बजेट नजिकिँदै गर्दा अटो व्यवसायीहरुले विद्युतीय गाडी (इभी)को आयात बढाएका छन्। बजेटमार्फत सरकारले कर बढाउने अनुमानका आधारमा व्यवसायीहरुले इभीको आयात बढाएका हुन्।
सरकारले संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट सार्वजनिक गर्ने तयारी गरिरहँदा व्यवसायीहरुले ६ दिनमा १४ सय हाराहारी इभी भन्सारबाट छुटाएका छन्।
विभिन्न भन्सार कार्यालयहरुले दिएको तथ्यांक अनुसार जेठ महिना लागेपछि व्यवसायीहरुले इभी छुटाउने क्रम बढेको हो। बैशाखमा २३ सय युनिट विद्युतीय चार पाङ्ग्रे गाडी ल्याएका व्यवसायीहरुले जेठ लागेपछि ६ दिनमा १३ सय ६२ युनिट इभी भन्सारबाट छुटाएका हुन्। विभिन्न नाकामा २७०० भन्दा धेरै इभी भन्सार पासका लागि पाइपलाइनमा छन्।
सामान्यतया नयाँ बजेट घोषणाअघि कुनै पनि वस्तुको आयातमा केही उतारचढाव देखिनु सामान्य भए पनि इभीको हकमा यसपटकको वृद्धि अस्वाभाविक मानिएको छ।
तर, व्यवसायीहरु सरकारले बजेटमार्फत कर बढाउँदा मूल्य महँगिने भएकाले अहिले आयात बढाउनुलाई स्वाभाविकरुपमा लिनुपर्ने बताउँछन्।
‘सरकारले कर घटाएको उदाहरण छैन। बजेटमार्फत जहिल्यै बढाउने गरेको छ। कर बढ्दा गाडीको मूल्य बढ्छ। तर, ग्राहकले सस्तो मूल्यमा किन्न खोज्छन्। त्यसैले महँगो हुँदा बजार बिग्रिएला भन्ने डरले अहिले आयात बढाएका हौं,’ एक अटो व्यवसायीले भने, ‘हाम्रो क्षेत्रमा सबैलाई नै कर बढ्छ भन्ने परेको छ। त्यसैले सबैजसोले नै आयात बढाएका छन्।’
गत आर्थिक वर्ष पनि सरकारले कर बढाउने संकेत पाएपछि व्यवसायीले इभीको आयात एकाएक बढाएका भएका थिए। तर, सरकारले करको दरमा सामान्य हेरफेर गरेको थियो।
अर्थ मन्त्रालय स्रोतका अनुसार कर धेरै बढाउने तयारी छैन। ‘ग्याप बढाउने वित्तिकै बजार माग खुम्चिएर राजस्व संकलनमा असर पर्ने डर हुन्छ। त्यसैले कर धेरै बढाउने तयारी छैन। कति बढ्छ भन्ने कुरा अहिले नै भन्न सकिने कुरा होइन, बजेट नै कुर्नुपर्छ,’ मन्त्रालयका एक सहसचिवले भने, ‘एउटा कुरा के निश्चित हो भने बजार माग नघटोस् भन्नेमा हामी सचेत छौं। बरु माग कसरी बढाउन सकिन्छ भन्नेबारे पनि हामीले छलफल गरिरहेका छौं।’

भन्सारबाट ठूलो संख्यामा गाडी छुटाइँदा राजस्व संकलनमा सकारात्मक प्रभाव पारेको छ।
रसुवा भन्सार कार्यालयका अनुसार ६ दिनमा ६७३ युनिट इभी भन्सार पास भएका छन्। बजेट सार्वजनिक गर्ने दिन नजिकिंदै जाँदा भन्सारबाट इभी छुटाउने क्रम बढेको छ। कार्यालयका अनुसार ७ गते २०० युनिट गाडी भन्सार पास गरिएको छ।
तातोपानी भन्सार नाकाबाट जेठ लागेपछि ४०० युनिटभन्दा धेरै इभी भन्सार पास भएका छन्। भन्सार कार्यालयका अनुसार ६ दिनमा ३९० कार र २६ युनिट माइक्रो भ्यान गरी ४१६ युनिट इभी भन्सार पास भएका छन्। यसमा एमजी, नामी र जेएमइभीको इभीइजी तथा फुटोनका भ्यान छन्।

भैरहवा भन्सार कार्यालयबाट ६ दिनमा २७३ युनिट इभी आयात गरिएको छ।
पाइपलाइनमा २७०० भन्दा धेरै
भन्सार यार्डमा अझै २७ सय ५३ युनिट इभी छन्। व्यवसायीहरुले यी सबै गाडी बजेट अगाडि छुटाउने तयारी गरिरहेको भन्सार कार्यालयहरुले जानकारी दिएका छन्।
तातोपानी भन्सार कार्यालयको यार्डमा १ हजार ८० युनिट गाडी छुटाउने तर्खरमा राखिएका छन्।
तातोपानी भन्सारको यार्डमा एमजीका ३००, नामीका ३००, लिपपमोटरका १५०, डिपलका १०० र ओमोडाका ४० युनिट गाडी छन्। यस्तै १५० वटा भ्यान र ४० वटा पिकअप पनि भन्सार पासको पाइपलाइनमा छन्। अहिले दैनिक ८० देखि १०० युनिट गाडी भन्सार पास गराउने काम भइरहेको छ।
आफूकहाँ अहिले वाइडी, किङलङ, केवाइसी, स्मार्टलगायत ब्रान्डका करिब १ हजार गाडी रहेको रसुवा भन्सार कार्यालयले जनाएको छ। यस्तै भैरहवा भन्सार कार्यालयको यार्डमा ६८२ इभी राखिएका छन्। जुन भन्सार पास गर्ने क्रममा छन्।