
काठमाडौं । नेपालका लागि युरोपेली युनियनका राजदूतहरुको प्रतिनिधिमण्डलले मंगलबार नेपाल विद्युत प्राधिकरणको भ्रमण गरेका छन्। उनीहरुले त्यहाँ नेपाल भारत विद्युत व्यापार र ग्रामीण विद्युतीकरणबारे जानकारी लिएका छन्।
प्राधिकरणका अनुसार नेपालका लागि युरोपेलि युनियनका राजदू वेरोनिक लोरेन्जोको नेतृत्वमा आएको टोलीमा अस्ट्रिया, स्विडेन लगायत देशका राजदुत र दूतावासका उच्च अधिकारीहरु सहभागी थिए।
भ्रमणका क्रममा भार सम्प्रेषण केन्द्रको कार्य अवस्था, नेपाल भारत विद्युत व्यापार र त्यसलाई भार सम्प्रेषण केन्द्रबाट गरिएको नियन्त्रणबारे पनि राजदूतहरुले जिज्ञासा राखेका थिए।
राजदूतहरुको विषेश चासो युरोपेली युनियनको सहयोगमा भरतपुर, पोखरा र बुटवलको त्रिकोणमा संचालित ग्रामीण विद्युतीयकरणबारे रहेको थियो। उनीहरुले त्यसको अवस्था, उत्पन्न प्रभाव र चुनौतीबारे समेत जिज्ञासा राखेका थिए ।
राजदूतका प्रश्नहरुको जवाफ प्राधिकरणका महाप्रबन्धक हितेन्द्र शाक्यले दिएका थिए। शाक्यले राजदूतहरुलाई प्राधिकरणको भार सम्प्रेषण केन्द्रका बारेमा विस्तृत जानकारी पनि गराएका थिए।