
काठमाडौं । जिल्ला समन्वय समिति चितवनले चितवन जिल्लालाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषण गर्न सिफारिस गर्ने निर्णय गरेको छ।
मंगलबार जिल्ला समन्वय समिति चितवनमा बैठकले सो निर्णय गरेको हो। बैठकमा चितवन जिल्लाका ७ पालिकाका प्रतिनिधि, निजी क्षेत्र, पर्यटन व्यवसायी, पर्यटन विज्ञ तथा सरोकारवालाहरुको उपस्थिति थियो।
सो बैठकले बागमती प्रदेश सरकारलाई पर्यटकीय राजधानी घोषणाको लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पर्यापर्यटनको नेपालकै एक नम्बर गन्तव्य चितवनलाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषणा गर्ने विषयमा जिल्लाका सरोकावालाले सर्वसम्मत निर्णय गरि बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ नीति तथा कार्यक्रममा समावेश गर्न सिफारिस गर्ने निर्णय गरेको जानकारी दिइन्।
चितवन राष्ट्रिय निकुञ्जमा रहेको जैविक विविधता, दुर्लभ वन्यजन्तुको अवलोकन, अध्ययन तथा अनुसन्धानका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरु चितवन पुग्ने गर्छन्। यस्तै, नेपाल सरकारको १०० गन्तव्यमा बिस हजार ताल, पटिहानी र सोमेश्वर गढी सूचिकृत छन् भने बागमती प्रदेश सरकारको एक जिल्ला एक उत्कृष्ट गन्तव्यमा समावेश मेघौली चितवनमै पर्छ।
सो बैठकमा पर्यटन विज्ञ विश्वराज सुवेदीले पर्यटनको राजधानी लागि प्राकृति, साँस्कृति, धार्मिक र साहासिक पर्यटकीय गन्तव्यहरु, सहज पहुँच, प्रयाप्त आवस सुविधा, पर्यटक सूचना केन्द्र तथा आवश्यक पूर्वाधारहरु भएकाले पर्यटकीय राजधानी घोषणा गर्न योग्य रहेको बताएका थिए। उनले चितवनको पर्यटन क्षेत्रमा ५० अर्ब बढी लगानी भइसकेको जानकारी पनि बैठकमा दिएका थिए।
यस्तै, चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष प्रकाश ढुंगानाले जिल्लाको पर्यटन चितवन राष्ट्रिय निकुञ्जमा आधारित भएकाले यसको संरक्षण एवम् प्रर्वद्धनमा जोड दिनुपर्ने उल्लेख गरेका थिए।
भरतपुर महानगरपालिकाको आयोजनामा भरतपुर भ्रमण वर्ष २०२४ जस्ता बृहत प्रवर्धनात्मक अभियानले समग्र क्षेत्रमा सकारात्मक आर्थिक प्रभाव परेकाले राजधानी घोषणाले जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउन महत्वपूर्ण भूमिका खेल्ने जिल्ला समन्वय प्रमुख नारायणप्रसाद अधिकारीले विश्वास व्यक्त गरेका थिए।
चितवन जिल्लामा रहेका होटलहरुमा १५ हजारको बेड क्षमता रहेको छ भने ६० वटा भन्दा बढी गन्तव्यहरु रहेका छन्।