
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक पूर्वाधार विकासमा निजी क्षेत्र ल्याउनुपर्ने बताएका छन्। सिमेन्ट उत्पादक संघले आयोजना गरेको सिमेन्ट कंक्रिट रोड कनक्लेभमा उनले सडक पूर्वाधार निर्माणमा निजी क्षेत्र भित्र्याउनुपर्ने बताएका हुन्।
‘अब हामीले सडकहरु निर्माणमा पनि पब्लिक प्राइभेट पाटर्नरसिप अर्थात पीपीपी मोडलहरुबाट जाने तयारी गर्नुपर्छ। निजी क्षेत्र जोडिने बितिकैआय र नाफाको कुरा आउँछ। आय र नाफा आउने सडकहरु अध्ययन गरेर हामी अगाडि बढ्नुपर्छ। त्यसका लागि केही पाइलट प्रोजेक्ट गर्नुपर्छ,’ दाहालले भने, ‘त्यस्ता पाइलट प्रोजेक्टहरुमा यो कंक्रिट रोड मोडल अपनाउन सक्छौं।’
यो अवधारणामा काम गर्नका लागि निजी क्षेत्रलाई कानुनी रुपमा सहज बनाउने काम भइरहेको उनले बताए।
‘अहिले मन्त्रालयले कानुनहरु पनि बनाइरहेको छ। त्यसमा निजी क्षेत्रलाई साथ लिएर जाने कुरामा कानुनी प्रावधानमा राख्ने योजना रहेको छ,’ उनले भने।
सिमेन्ट निर्यात गर्ने अवस्था रहेको भन्दै उनले त्यसको स्वदेशमा नै खपत गर्नुपर्नेमा जोड दिए।
‘सिमेन्ट कंक्रिट सडकको मोडल अगाडि बढाउनु पर्छ। यसका लागि पनि पाइलट प्रोजेक्ट गर्नुपर्छ। दाउन्नेमा सिमेन्ट कंक्रिट रोड ६ किलोमिटर बन्दै गरेको अवस्था छ। सबै कुरामा आत्मनिर्भर बन्दै गइरहेको बेलामा यो मोडल राम्रो हुन्छ,’ दाहालले बताए।
भारतमा यही मोडलमा काम भइरहेको उल्लेख गर्दै उनले त्यहाँबाट सिकेर काम गर्नु पर्नेमा जोड दिए।
‘हाम्रो देशको परिवेशमा सडक नै विकास हो भन्ने बुझाइ छ। अब सिमेन्ट कंक्रिट रोड मोडलमा हामी जानुपर्छ। हाम्रो स्रोत नै कम भएकाले लागतको हिसाबमा पनि औचित्य राख्छ। सबै एकैपटक सिमेन्ट कंक्रिट गर्न सम्भव छैन। टिकाउ छ त्यसैले किफायती छ भन्ने नाराका साथ सिमेन्ट कंक्रिट रोड मोडल अगाडि बढाउन सकिन्छ,’ उनले भने।